सालपा विकास बैंकको आईपीओ बाँडफाँड, १ लाख ४३ हजारले पाए शेयर

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयरका लागि आवेदन दिएकोमा २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा १ लाख ४३ हजार ९१७ जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन्। यीमध्येबाट ९ जना आवेदकले थप १/१ कित्ता गरी कुल ११ कित्ता आईपीओ हात पारेका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ।
आईपीओको नतिजा अनलाइनमा सार्वजनिक हुन भने केही समय लाग्ने क्यापिटलले जानकारी दिएको छ।













