धौलागिरी लघुवित्तको सामाजिक प्रतिबद्धता: पर्वतका विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६, शालिग्राम देउरालीमा अवस्थित श्री शिला आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू आर्थिक रूपमा विपन्न परिवारबाट आएका, दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका तथा जाडो मौसममा आवश्यक न्यानो कपडा खरिद गर्न असमर्थ रहेको अवस्थालाई मध्यनजर गर्दै उक्त सहयोग कार्यक्रम सञ्चालन गरिएको वित्तीय संस्थाले जनाएको छ । विशेषगरी चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य तथा नियमित पठनपाठनमा नकारात्मक असर परिरहेको सन्दर्भमा उनीहरूलाई सहज वातावरणमा अध्ययन गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो ।
विद्यालय परिसरमै आयोजित एक औपचारिक कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी, विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिकाहरु र स्थानीय अभिभावकहरूको उपस्थितिमा बिभिन्न कक्षामा अध्ययनरत ६४ जना विद्यार्थीहरूलाई न्यानो कपडा तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोग वितरण कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले सामाजिक उत्तरदायित्व वहन गर्नु वित्तीय संस्थाको प्रमुख दायित्व मध्ये एक भएको उल्लेख गर्दै शिक्षा र बालबालिकाको भविष्यमा लगानी गर्नु दीर्घकालीन विकासका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
चिसो मौसमका कारण न्यानो कपडाको अभावमा कतिपय विद्यार्थीहरूको विद्यालय उपस्थितिमा कमी आउने तथा पठनपाठनमा ध्यान केन्द्रित गर्न कठिनाइ भइरहेको अवस्थामा उक्त सहयोगले विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि हुनुका साथै उनीहरूको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । साथै, शैक्षिक सामग्री सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा बढ्ने विश्वास लिइएको छ ।
राष्ट्रिय स्तर कार्यक्षेत्र भई मुलुकको २४ वटा जिल्लामा ५८ वटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि पनि विभिन्न जिल्लाहरूमा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, महिला सशक्तीकरण तथा समुदाय विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनहरूमा पनि सामाजिक रूपले पछाडि परेका समुदाय, विपन्न वर्ग तथा बालबालिकालाई लक्षित गरी यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिइने संस्थाले प्रतिबद्धता व्यक्त गरेको छ ।
संस्थाले गरेको यो पहलले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै निजी क्षेत्रको सामाजिक सहभागिताले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूको प्रतिक्रिया रहेको छ ।













