चुनावको ‘चु’ उच्चारण नगरी प्रधानमन्त्री र ओलीबीच त्यो तीन घण्टे वार्ता

२५ पुष २०८२, शुक्रबार १२:१९

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीचको ‘हेड टु हेड’वार्ताले नेपाली राजनीतिक वृत्तमा अर्को तरंग सिर्जना गरेको छ ।

यसअघि प्रतिनिधि सभामा सबै भन्दा ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस विशेष महाधिवेशन पक्ष र विपक्षको जुधाइमा अल्झिरहेका बेला आफ्नै उत्तराधिकारी बनेर आएकी प्रधानमन्त्री सुशीला कार्कीसँगको ओली भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बाहिरफेरा प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्री ओलीबीचको एक्ला–एक्लै वार्ता आगामी फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित भएको भनिए पनि भित्री कुरा अर्कै भएको बताइँदै छ । भेटमा ओलीले नेपालमाथि गम्भीर भूराजनीतिक षड्यन्त्र गर्न खोजिएको प्रति चिन्ता प्रकट गर्नुका साथै प्रधानमन्त्री कार्कीलाई देश जोगाउने आग्रह गरेका थिए ।

ओलीले बाहिर हेर्दा पूराना राजनीतिक दललाई घेराबन्दी गर्न खोजिएको जस्तो देखिए पनि अन्तर्यमा गम्भीर षड्यन्त्र भइरहेकोतर्फ प्रधानमन्त्री कार्कीको ध्यानाकषर्ण गराए । उनले डा. बाबुराम भट्टराईको एक साताको दिल्ली बसाई, भट्टराई फर्किएलगत्तै नयाँ पार्टीहरुको गठजोड, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालबीचको भेट, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र डोभालबीचको भेट, आरजु राणा देउवाको भारत दौडाहालगायत विषयमा गम्भीर छलफल गरेको बताइएको छ ।

प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्री ओलीबीचको भेटमा जेनजी आन्दोलनको समीक्षा तथा ईण्डो सीआईए हस्तक्षेपविरुद्धको रणनीतिबारे समेत कुरा भएको बुझिएको छ । ओलीले आफु प्रधानमन्त्रीको पदमा हुँदा जेनजी आन्दोलनका नाममा गराइएको विध्वंश र नेपाली सेनाको भूमिकाप्रति आंशका व्यक्त गरे ।

नेपाली सेना अमेरिकी अस्तित्वमा गइसकेको भन्दै ओलीले प्रधानमन्त्री कार्कीलाई मुलुक बचाउने पक्षमा लाग्ने आग्रह गरेको बताइएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकै दिन प्रधानमन्त्री कार्कीसँग ओलीले गरेको तीन घण्टे छलफलबारे आधिकारिक र औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।

राष्ट्रपतिसँगको बिदाइ भेटका दौरान राजदूत थम्पसनले चार वर्ष लामो कसरतमा तयार पारिएको अमेरिका-नेपाल सांस्कृतिक सम्पति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेर गएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*