तेल उद्योगमा नारायणी आयलको राजः ७ ब्रान्ड बेचेर वर्षदिनमा १० अर्बको व्यापार, भारतमा समेत गर्दै निर्यात

काठमाडौँ । नेपालसहित अन्तर्राष्ट्रिय बजारमा ७ वटा ब्रान्डका तेल बिक्री गर्ने नारायणी आयल रिफाइनरी उद्योगले वर्षदिनमा १० अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ (अनअडिट) को वित्तीय विवरण अनुसार १० अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार गर्ने सफल भएको हो ।
कम्पनीको व्यापार सन् २०२४ को तुलनामा १२२.६७ प्रतिशत अर्थात् ५ अर्ब ६२ करोड ७० लाख रुपैयाँले बढी हो । सो वर्ष कम्पनीले ४ अर्ब ५८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
नारायणी आयल रिफाइनरी उद्योग प्रालि (नारायणी आयल) नेपालका खाद्य तेल उद्योगमध्ये तीन दशकभन्दा बढी अनुभव बोकेको स्थापित निजी उद्योग हो । २०४६ असोज ४ गते स्थापना भई बारा जिल्लाको लिपनिमालमा रहेको आधुनिक प्रशोधन प्लान्टमार्फत कम्पनीले निरन्तर उत्पादन र आपूर्ति गर्दै आएको छ । स्वदेशी बजारमा गुणस्तरीय खाद्य तेल उपलब्ध गराउने लक्ष्यसहित अघि बढेको नारायणी आयलले समयसँगै आफ्नो उत्पादन क्षमता, ब्रान्ड पहिचान र वित्तीय संरचनामा उल्लेखनीय सुधार गरेको देखिन्छ ।
तीन दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको नारायणी आयलले खाद्य तेल प्रशोधन क्षेत्रमा स्थायित्व र विश्वसनीयता कायम गरेको छ । सोयाबिन, पामोलिन, भान्साका लागि प्रयोग हुने विभिन्न वनस्पति तेल, तोरी, सूर्यमुखी र पाम तेल प्रशोधन गर्ने कम्पनीको कुल जडित क्षमता वार्षिक १ लाख २८ हजार ५०० मेट्रिक टन रहेको छ ।
नारायणी आयलले घरेलु बजारमा ‘त्रिशक्ति’, ‘स्माइल’, ‘आरोग्य’, ‘श्री’, ‘नीलमणि’, ‘कुन्दन’ र ‘नीलकमल’ ब्रान्डका खाद्य तेल बिक्री गर्दै आएको छ । फरक–फरक उपभोक्ता वर्गलाई लक्षित यी ब्रान्डहरूले बजारमा कम्पनीको पहुँच विस्तार गरेका छन् । गुणस्तर, स्वच्छता र मूल्य प्रतिस्पर्धात्मकतामा जोड दिँदै आएको कम्पनीले उपभोक्ताको विश्वास जित्न सफल भएको देखिन्छ ।
कम्पनीको सञ्चालन नाफा सूचकमा पनि सकारात्मक परिवर्तन देखिएको छ । अघिल्लो वर्षहरूमा नकारात्मक अवस्थामा रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष सन् २०२४ मा करिब दुई प्रतिशत पुगेको थियो । सन् २०२५ यो मार्जिन बढेर करिब ७.७१ प्रतिशत पुगेको छ । लागत व्यवस्थापन, कच्चा पदार्थ खरिद रणनीति र मूल्य समायोजनले नाफामुखी सञ्चालनतर्फ कम्पनीलाई अघि बढाएको देखिन्छ ।
नारायणी आयलको समग्र ऋण संरचनामा पनि सुधार देखिएको छ । अघिल्लो वर्षहरूमा ऋण अनुपात उच्च भए पनि चालु आर्थिक वर्षमा समग्र गियरिङ घटेर करिब २.२ गुणा पुगेको छ । यसले ऋणको बोझ क्रमशः कम हुँदै गएको र स्वपुँजीको उपयोग बढ्दै गएको छ । साथै, ब्याज तिर्ने क्षमता पनि उल्लेखनीय रूपमा सुधार भएको छ ।
चाचन परिवार समूह अन्तर्गत सञ्चालन भइरहेको उद्योग हो । नारायणी आयलले आफ्ना उत्पादनहरू भारतमा पनि निर्यात गर्दै आएको छ । सन् २०२५ मा करिब ७० प्रतिशत हिस्सा भारतबाट गएको देखिन्छ ।
कम्पनीको दीर्घकालीन बैंक सुविधाहरूको लागि केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर–एनपी बीबी+’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय स्थायित्व र दीर्घकालीन ऋण तिर्ने क्षमतामा विश्वास प्रकट गरेको हो । दीर्घकालीन ऋण सुविधा रकम १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
छोटो अवधिको बैंक सुविधाहरूको रेटिङलाई ‘केयर–एनपी ए४+’ मा सुधार गरिएको छ, जुन अघिल्लो ‘केयर–एनपी ए४’ भन्दा उन्नत रेटिङ हो । यसरी कुल बैंक सुविधा रकम ५ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।













