चर्चित अभिनेता संजय दत्त काठमाडाैंमा, आजै फर्कदै

काठमाडौँ । बलिउड अभिनेता संजय दत्त बिहीबार दुबईबाट चार्टर विमानमार्फत काठमाडौं आएका छन् । काठमाडौंको ठमेलमा सञ्चालित नयाँ क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन्।
उद्घाटन कार्यक्रमसँगै संजय दत्त शुक्रबारै मुम्बई फर्किने जनाइएको छ। संजय दत्तको यात्रा भारतको भीभीआईपी फ्लाइट प्रालि मार्फत संयोजित गरिएको हो भने नेपालमा चार्टर उडानको अनुमति सौरभ ट्राभल एन्ड टुरले प्राप्त गरेको थियो। चार्टर विमान अमेरिकी कम्पनी रायन एभिएसन इंकको स्वामित्वमा रहेको व्यवसायिक जेट हो, जसको निर्माण क्यानाडाली विमान निर्माता बोम्बार्डियरले गरेको हो।
विमान बिहीबार दुबईस्थित अल मक्तूम अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएका थिए र शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्किने छन् ।
उक्त भ्रमणको क्रममा संजय दत्त पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन्।
ठमेलको मुख्य चोकमा रहेको बराही काठमाडौं होटलमा सञ्चालित ओम बादशाह प्रालि क्यासिनो उद्घाटन कार्यक्रममा संजय दत्त उपस्थित थिए। क्यासिनोको पहिलो सफ्ट ओपनिङ अक्टोबर ८ मा सम्पन्न भइसकेको थियो। चिनियाँ लगानीमा सञ्चालित क्यासिनो वाल्डोले संचालन गरेको यो स्थल काठमाडौंको प्रमुख गेमिङ गन्तव्यमा पर्छ।













