निजी क्षेत्रमा कर्जा प्रवाह सामान्य अंकले बृद्धि, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपालमा सञ्चालित रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेर ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निजी क्षेत्रमा सो कर्जा प्रवाह भएको हो ।
वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रततर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।
साथै, यस अवधिमा अवधिमा निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको २.० प्रतिशत, विकास बैंकहरूको ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा र वित्त विमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये हायर पर्चेज कर्जा ६.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ५.७ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.७ प्रतिशत, क्यास क्रेडिट कर्जा २.६ प्रतिशत, आवधिक कर्जा १.२ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.० प्रतिशत, र ट्रष्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५.४ प्रतिशतले घटेको छ ।













