आन्दोलनपछिको आशंका चिर्दै अर्थतन्त्रमा कमब्याक: रेमिट्यान्समा उछाल र बाह्य क्षेत्र मजबुत

२५ पुष २०८२, शुक्रबार १५:५३

काठमाडौँ । जेन जी आन्दोलनपछिको राजनीतिक उतार–चढाव र अस्थिरताको छायाले देशको अर्थतन्त्रमाथि ठूलो प्रभाव पार्ने आशंका गरिएको थियो । तर हाल सार्वजनिक भएका तथ्याङ्कले आशंकालाई चिर्ने सफल भएको छ । नेपाल राष्ट्र बैंकका विवरणअनुसार अधिकांश आर्थिक सूचक पुनः लयमा फर्किएका छन् र व्यवसाय, लगानी तथा उत्पादनका गतिविधि क्रमशः सुधार हुँदै गएका छन् ।यसले अर्थतन्त्रमा स्थिरता र दीर्घकालीन वृद्धि सम्भाव्य रहेको संकेत गरेको छ ।

विशेषगरी सरकारी प्रयासहरूले अर्थतन्त्रलाई प्रोत्साहित गर्ने वातावरण तयार पारेको छ । जेन जी सरकारको नेतृत्वमा अर्थतन्त्रलाई गतिशील बनाउने नीति तथा योजना अगाडि बढाइएका छन् । अर्थमन्त्रालयका मन्त्री रामेश्वर खनालको समन्वयकारी भूमिकाले पनि निजी क्षेत्र र सार्वजनिक संस्थाहरूबीच सन्तुलन कायम राख्दै आर्थिक गतिविधिलाई निरन्तरता दिएको छ। सरकारी लगानी, उद्योग प्रोत्साहन योजना र पूर्वाधार विकास कार्यक्रमहरूले व्यवसायिक मनोबल बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

निर्माण उद्योग पछिल्लो वर्षको मन्दीपछि पुनः सक्रिय भएको देखिन्छ । सडक, पुल, आवासीय तथा वाणिज्यिक भवन निर्माणमा क्रमिक वृद्धि देखिएको छ । राजधानी र प्रमुख शहरहरूमा निर्माण गतिविधि बढ्दा रोजगार अवसर पनि बढेका छन् । निजी क्षेत्रका व्यवसायीहरू पनि विस्तारमा लागेका छन्, जसले स्थानीय उत्पादन र सेवामा वृद्धि ल्याएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सहज ऋण उपलब्ध गराउने, लगानी प्रवाहलाई समर्थन गर्ने र सूक्ष्म तथा साना व्यवसायलाई वित्तीय पहुँच विस्तार गर्ने काम गर्दै आर्थिक गतिशीलता बढाउन योगदान पु¥याइरहेका छन् ।

सेवा क्षेत्रमा पनि सुधार देखिएको छ । पर्यटन, होटल, बैंकिङ, बीमा, र खुद्रा व्यापारमा गतिशीलता बढ्दै गएको छ। विशेष गरी होटल तथा पर्यटन उद्योगले आन्तरिक तथा विदेशी पर्यटक बढेसँगै आम्दानी वृद्धि गर्न सफल भएका छन्। बैंकिङ तथा वित्तीय क्षेत्रले पनि डिजिटल सेवा, नयाँ ऋण सुविधा, र लगानीका उत्पादनहरू मार्फत बजारमा विश्वास कायम राख्न सकेको छ। यसले आर्थिक गतिविधि सजीव राख्ने महत्वपूर्ण भूमिका खेलेको छ।

रेमिट्यान्स ३५% ले बढेर ८ खर्ब ७० अर्ब पुग्यो

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा नेपालमा रेमिट्यान्स प्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ । यस अवधिमा कुल ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३५.६ प्रतिशत बढी हो । मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ जबकि अघिल्लो वर्ष सो महिनामा यो रकम १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा पनि रेमिट्यान्स प्रवाह वृद्धि भएको छ । पाँच महिनामा अमेरिकी डलरमा भित्रिएको विप्रेषण २९.० प्रतिशत बढेर ६ अर्ब १६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

वैदेशिक रोजगारी र अन्य स्रोतबाट प्राप्त खुद द्वितीय आय पनि बढेको देखिन्छ । समीक्षा अवधिमा कुल खुद द्वितीय आय ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो ७ खर्ब ४३ करोड रुपैयाँ थियो । वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ पुगेको छ ।

विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाध्यो

विदेशी मुद्रा सञ्चिति पाँच महिनामा ३२ खर्ब रुपैयाँ नाघेको छ । मंसिरसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ, जुन गत असारको २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँको तुलनामा १९.६ प्रतिशतले वृद्धि हो । मंसिरमा मात्रै अमेरिकी डलरमा सञ्चिति १३.५ प्रतिशत बढेर २२ अर्ब १३ करोड डलर पुगेको छ, जुन गत असारको १९ अर्ब ५० करोड अमेरिकी डलरको तुलनामा उल्लेखनीय वृद्धि हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ३५ अर्ब रुपैयाँ कायम छ। राष्ट्र बैंकमा ५ महिनामा विदेशी मुद्रा १८.७ प्रतिशत र बैंकमा २७.४ प्रतिशतले बढेको छ। विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ ।

वर्तमान सञ्चितिको आधारमा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेको छ, जुन गत असार मसान्तको ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशतको तुलनामा बढेको देखिन्छ ।

शोधनान्तर स्थिति ४ खर्ब नाघ्यो, चालु खाता उल्लेखनीय वृद्धि

मंसिर मसान्तसम्ममा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल अघिल्लो वर्षको सोही अवधिको २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो । अमेरिकी डलरमा शोधनान्तर स्थिति पनि अघिल्लो वर्षको १ अर्ब ६८ करोडबाट २ अर्ब ९८ करोड रुपैयाँले बढेको देखिन्छ ।

समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ५८ अर्ब ४५ करोडको तुलनामा दोब्बरभन्दा बढी हो। अमेरिकी डलरमा चालु खाता पनि अघिल्लो वर्षको १ अर्ब १८ करोडबाट २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।

यस्तै, पाँच महिनामा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४७ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ३ अर्ब ५० करोड र ६ अर्ब ३ करोड रुपैयाँ मात्रै भित्रिएको थियो ।

निरन्तर घट्दै महङ्गी

मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत कायम भएको छ । यो अघिल्लो वर्षको सोही महिनाको ६.०५ प्रतिशतको तुलनामा स्पष्ट रूपमा घटेको देखिन्छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशतमा रहेको छ ।

अर्थव्यवस्था अनुसार आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको औसत ४.८९ प्रतिशतको तुलनामा निकै कम हो। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको मूल्य ५.५२ प्रतिशतले बढ्दा, तरकारी, मरमसला र दाल–गेडागुडी उप–समूहको मूल्य क्रमशः ८.५४, ८.४३ र ५.७९ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा उप–समूहको मूल्य १८.५६ प्रतिशतले बढेको छ। शिक्षाको मूल्य ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थ ३.८५ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य भने ०.२३ प्रतिशतले घटेको छ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Month-data-of-2082.83

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*