ऊर्जा परियोजनामा पुँजी बजारको भूमिका विस्तार गर्न सेबोन र आयोगबीच छलफल

२५ पुष २०८२, शुक्रबार १६:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र विद्युत् नियमन आयोगबीच नेपालको पुँजी बजार र विद्युत उत्पादनसँग सम्बन्धित क्षेत्रलाई सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

पुँजी बजारको माध्यमबाट विद्युत उत्पादनसम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन गर्ने, नियामक निकायहरूबीच समन्वय मजबुत बनाउने तथा नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा बैठक केन्द्रित रहेको थियो । दुवै निकायका प्रतिनिधिहरूले दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्र आवश्यक रहेकोमा साझा धारणा व्यक्त गरेका छन् ।

बैठकमा सहभागी बोर्ड र आयोगका प्रमुख तथा पदाधिकारीहरूले बजारप्रति लगानीकर्ताको विश्वास बढाउने, लगानीका नयाँ अवसर सिर्जना गर्ने र पुँजी बजार तथा विद्युत उत्पादन क्षेत्रको समग्र विकास र स्थायित्वमा योगदान पुर्‍याउने लक्ष्यका साथ निरन्तर सहकार्य, सूचना आदान–प्रदान र संयुक्त पहललाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

पुँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई थप संस्थागत र परिणाममुखी बनाउने उद्देश्यले दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । कार्यदलले लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय तथा विद्यमान नियम–कानुनमा आवश्यक परिमार्जनबारे अध्ययन गरी ठोस उपाय पहिचान गर्ने अपेक्षा गरिएको छ ।

बैठकमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरू विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश के.सी. सहभागी थिए । विद्युत् नियमन आयोगको तर्फबाट अध्यक्ष डा. राम प्रसाद धिताल, सदस्यहरू डा. मधुसुदन अधिकारी र भगिरथि भट्टराई ज्ञवालीसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*