उद्योग–शिक्षा सहकार्यमा नाइमा नवौँ संवाद: दक्ष जनशक्ति र स्थानीय उत्पादनमाथि जोड

२५ पुष २०८२, शुक्रबार १६:५२

काठमाडौँ । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले इन्स्टिच्युट अफ इन्जिनियरिङ, थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ।

क्याम्पस प्रमुख डा. खेम ज्ञवलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य विषय कम्प्लिट्ली नक्क्ड डाउन (सीकेडी) भेहिकल एसेम्ब्लीः अपर्चुनिटिज, च्यालेन्जेस एन्ड वे फर्वार्ड रहेको थियो। अध्यक्षीय मन्तव्यमा डा. ज्ञवलीले थापाथली क्याम्पसले लामो समयपछि यति महत्वपूर्ण उद्योग–शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व व्यक्त गरे । उनले यस्ता संवादहरू व्यवहारिक सिकाइ, अनुसन्धान र उद्योगसँग सहकार्य विस्तारका लागि आवश्यक रहेको उल्लेख गर्दै, कार्यक्रममा योगदान पुर्‍याउने नाइमा र अटोमोबाइल एन्ड मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स इनोभेटिभ नेक्सस (एमेसिन) लाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा करिब २०० जना सहभागी थिए। प्राविधिक प्रस्तुति तथा प्यानल छलफल पनि आयोजना गरिएको थियो। प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ। लोचन केन्द्र देवकोटाले गर्नुभएको थियो। प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमाका बोर्ड सदस्य शेखर गोल्छा, तथा थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखेल सहभागी थिए।

कार्यक्रमको स्वागत मन्तव्य इ। देवेन्द्रबहादुर राउत, प्रमुख, अटोमोबिल एन्ड मेकानिकल इन्जिनियरिङ विभाग, र नाइमाका सदस्य तथा सारडा ग्रुपका निर्देशक गौरव सारडाले दिएका थिए। इ। राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै प्राज्ञिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए। नाइमा सदस्य सारडाले सीकेडी भेहिकल एसेम्ब्ली, मेक इन नेपाल नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलको रूपमा प्रस्तुत गर्दै, यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सृजना, प्रविधि स्थानान्तरण र स्थानीय आपूर्ति श्रृङ्खलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

प्यानल छलफलका क्रममा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए। भारत, चीन, ब्राजिल र अफ्रिकी मुलुकहरूको अनुभवले सीकेडी भेहिकल एसेम्ब्लीलाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखाएको उल्लेख गर्दै, मेक इन नेपाल सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे छलफल गरिएको थियो।

कार्यक्रमको सहजीकरण नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए। उनले नाइमा मोबिलिटी संवादलाई आगामी दिनहरूमा अझ फराकिलो सहकार्य र युवा सहभागिता अभिवृद्धि सहित निरन्तरता दिने जानकारी दिनुभयो र यसको दशौं श्रृङ्खला पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको बताए ।

समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी र नाइमाकी बोर्ड सदस्य यमुना श्रेष्ठले दिएका थिए। एसएसपी अधिकारीले चालक, ट्राफिक प्रहरी र सरोकारवालाहरूलाई आधुनिक सवारी साधन प्रविधिबारे शिक्षित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै, उदीयमान सवारी प्रविधि तथा सफ्ट स्किल्स सम्बन्धी तालिम उपत्यकाका सम्पूर्ण ट्राफिक प्रहरीलाई प्रदान गर्ने पहलको प्रशंसा गरे । साथै, हालै ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिपछि प्रदान गरिएको सहयोगको उच्च मूल्याङ्कन गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*