१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा पुस २५ गते सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभाले शेयरधनीलाई १४.२५% बोनस शेयर र ०.७५% नगद लाभांश कर प्रयोजनका लागि गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले आ.व. २०८१/८२ मा ८७ करोड ५० लाख ६ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन लगायत २०८२ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरणहरु समेत सर्वसम्मत पारित गरेको छ। कम्पनीको लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार आ.व २०८१/८२ मा वित्तीय संस्थाको जारी र चुक्ता पुँजी रु. ४ अर्ब ३१ करोड २६ लाख २१ हजार, कुल सम्पत्ती रु. ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार पुगेको छ। प्रति शेयर आम्दानी रु. २०.२९, प्रति शेयर बुक नेटवर्थ रु. २३९.३८, जम्मा पुँजीमा प्रतिफल ८.४८%, मूल्य आम्दानी अनुपात ४३.५९ र कुल पुँजी कोष १६.६२% रहेको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाठकले गरीबी निवारणका लागि ग्रामीण क्षेत्रका साना किसानहरूलाई केन्द्रमा राखेर लगानी गर्दै आएको यस संस्थालाई अझै साना किसानहरूका लागि नभई नहुने संस्थाका रूपमा विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले सबैभन्दा पहिले गरीब र किसानहरूलाई माथि उठाउन सके देशकै अर्थतन्त्र सुधार हुने बताए। ग्रामीण क्षेत्रमा पशुपालन, दुग्धजन्य उत्पादन, तरकारी उत्पादन, साना तथा लघुउद्यम विकासका लागि लघुवित्तले प्रदान गर्दै आएको साथ र सहयोगको सार्थकता समेत प्रमाणित हुँदै गएको दाबी गरे। उनले शेयर सदस्यहरूलाई अहिलेको बदलिंदो अवस्थामा संस्थालाई बलियो बनाउने विषयमा सबैले सोच्नुपर्नेमा जोड दिए।
यसैगरी कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बासु अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाले उद्यम र उद्यमशीलताको विकासमा आफ्नो ध्यान केन्द्रित गरेको बताए। उनले युवा, महिला र गरीब किसानहरूको आर्थिक सवलीकरणका कार्यक्रमलाई सरकारसँगै दातृ निकायहरूसंग सहकार्य गरी सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत जनाए।
यस वित्तीय संस्थामा देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरूमा १ हजार ४६३ साझेदार संस्था आबद्ध रहेको कम्पनीले जनाएको छ। आवद्ध सहकारी संस्थाहरूले रु. ८८ अर्ब ८४ करोड ४९ लाख बराबरीको आन्तरिक पूँजी निर्माण गरी परिचालन गरेका छन्। कम्पनीले आ.व २०८१/८२ को अन्त्यसम्ममा कुल ९ लाख ४१ हजार ७३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुर्याउन सफल भएको छ। जसमध्ये दलित १०.९२%, जनजाति ४२.२१% र अन्यको ४६.८७% रहेकोमा महिला सहभागिता ८२% छ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारको ऋण सहयोगमा १५ वर्ष अघिदेखि सञ्चालन गर्दै आएको सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रममा १ लाख ६९ हजार ५०० किसानहरूलाई व्यवसायसँग जोड्न सफल भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा २ लाख ८५ हजार ३७२ जना किसानलाई रु. ४३ अर्ब ८० करोड ९२ लाख पशुपालन कर्जा र १८ हजार १०२ जना साना किसानलाई रु. ३ अर्ब ९ करोड ५२ लाख तरकारी खेती कर्जा प्र्रवाह भएको उल्लेख छ।
किसानहरुले बाख्रा, बङ्गुर, पाडापाडी, भैंसी र गाई जस्ता १७ लाख ७९ हजार ७० वस्तुभाउ पालन र १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेका छन्। यस कार्यक्रमका माध्यमबाट वार्षिक रुपमा झण्डै रु. ७ अर्बको हाराहारीमा र हालसम्म रु. ७३ अर्ब भन्दा बढीको मासु तथा दुग्धजन्य पदार्थ र तरकारीको उत्पादन भएको आँकलन गरिएको छ। यस कम्पनीले एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको सहकार्यमा कृषिमा युवा तथा स्तरोन्नती भएका साना किसानहरूलाई लक्षित गरी कृषि उत्पादन, प्रशोधन र बजारीकरण कार्यमा संलग्न गराउन ग्रामीण उद्यम परियोजना सञ्चालन गरेको छ।













