वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्विरोध

काठमाडौँ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्विरोध निर्वाचित भएका छन्। राजधानीमा शुक्रबार सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा र तृतीय उपाध्यक्षमा तारा एयरका प्रमुख कार्यकारी अधिकृत उमेश पनेरु चयन भएका छन्।
महासचिवमा सिम्रिक एयरका प्रबन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डित तथा कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रूपेश जोशी चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट तथा हेलि एभरेस्टका फुर्वा छिरिङ शेर्पा रहेका छन्।













