मिल्यो ओली र पूर्वराजा ज्ञानेन्द्रको बोली, रामशाहपथमा प्रधानमन्त्रीले देखिन् फरक दृष्य

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि जेनजी सरकार प्रमुख तथा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाप्रति शंका व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले गृहमन्त्रीसहित आफ्ना क्याविनेट सदस्यहरुप्रति समेत आशंका व्यक्त गरेकी छन् ।
केही दिनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि उनको व्यवहार फेरिएको हो । आफुसँगको भेटमा तत्कालीन प्रधानमन्त्री ओलीले नेपाली सेनामाथि गरेको शंका र आफ्नै क्याविनेट सदस्यहरु रास्वपाका नेताहरु भेट्न होटलका कोठा-कोठा पुगेको गतिविधिका कारण प्रधानमन्त्री कार्कीले थप तनाव झेल्नु परेको छ ।
ओलीले नेपाली सेना ‘नेपाल सरकारप्रति भोजेटिभ’ हुन छोडेको भनी टिप्पणी गरेका थिए । भेटमा ओलीले त्यति मात्रै होइन भदौ २४ को विध्वंश र अहिलेका पपुलिष्ट पात्रहरुसँग सजग हुन समेत आग्रह गरेका थिए । उनले मुलुकमा गम्भीर भूराजनीतिक षड्यन्त्र निम्त्याउन खोजिएको भन्दै मुलुक जोगाउनतर्फ लाग्न सुझाव दिएका बताइएको छ ।
प्रधानमन्त्री कार्कीसँगको भेटपछि ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा समेत मुलुकमा भूराजनीतिक निम्तिने खतराबारे निकै लामो प्रवचन दिएका छन् । उनले पपुलिष्टहरुले देशमा भयावह खोजिम निम्त्याउन सक्ने भन्दै नयाँ नेताहरुलाई अवतारी नायक भन्न भ्याएका छन् । अवतारी नायकले जादुमयी समाधान निन्छन् भन्ने भ्रममा जनतालाई पारिएको भन्दै एमाले अध्यक्ष ओलीले पपुलिष्ट र पथभ्रष्ट तत्वबाट जनतालाई भ्रममुक्त पार्नुपर्ने बताएका छन् ।

यता, रामशाहपथमै बसेर लामो समय न्याय निसाप छिनेकी प्रधानमन्त्री कार्कीले ओलीको शंका विपरीत रामशाहपथमा फरक दृष्य देखिन् । यो पल्ट रामशाहपथस्थित पृथ्वीनारायण शाहकको शालिकमा राष्ट्र प्रमुखबाट माल्यार्पण मात्रै भएन । नेपाली सेनाले भव्य कार्यक्रम गरेको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीहरु, मुख्यसचिव तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी भए ।

त्यति मात्रै नभई नेपाली सेनाले पृथ्वीनारायण शाहको शालिकबाहेक पनि सिंहदरबारको मूल (पश्चिमी)गेट अर्थात् गेटको भित्ता मै ‘श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह’लेखिएका व्यानरहरु राखेर छुट्टै माल्यार्पण गरेको छ । सेनाले बग्गीखाना छेउमा रहेको प्रवेशद्वारदेखि सिंहदरबारको दक्षिणी गेटमा समेत ‘श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह’लेखेको सु-सज्जित व्यानरमा माल्यार्पण गरेर राजतन्त्रप्रति धक फुकाएर सम्मान गरेको विश्लेषण हुन थालेको छ ।
आफुसँगको भेटमा ओलीले सेनाप्रति गरेको शंका र रामशाहपथमा देखिएको फरक दृष्यले प्रधानमन्त्री कार्कीलाई दोधारमा भने पारेको छ । केही दिनअघि भेटमा ओलीले नेपाली सेना अमेरिकी अस्तित्वमा गयो भनेका थिए । उता, पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै बोलीमा बल पुग्ने गरी देश अवाञ्छित भ्रमको चपेटामा परेको टिप्पणी गरेका छन् । उनले आफ्नो बहिर्गमन जनचाहाना नभएको जिकिर गर्दै झापाको दमकबाट भिडियो सन्देश नै जारी गरेका छन् ।
उनले अहिलेको संकटको निकास राष्ट्रिय सहमतिबाट खोज्नुपर्नेमा जोड दिएका छन् । जसरी केही दिनअघि ओलीले प्रधानमन्त्री कार्कीसँगको भेटमा चुनावको ‘चु’ पनि उच्चारण नगरी तीन घण्टा गम्भीर छलफल गरेका थिए त्यसैलाई थप बल पुग्ने गरी पूर्वराजा शाहले राष्ट्रिय सहमतिविना निकास खोज्नु समय खेर फाल्नु मात्रै हो भनेका छन् ।
ओलीले समेत प्रधानमन्त्री कार्कीलाई सबैको सहमतिमा मात्रै लोकतन्त्र बनाउन सकिने भन्दै विचारहिन र सार्जजनिक जवाफदेहिता नभएकाहरुको पछि नलाग्न आग्रह गरेका थिए ।













