पृथ्वीजयन्तीमा ज्ञानेन्द्रले भने-‘मेरो बहिर्गमन जनचाहाना थिएन, श्रीपेच फिर्ता देऊ’

२७ पुष २०८२, आईतवार १२:२६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटीबाट आफ्नो बहिर्गमन जनचाहना नभएको जिकिर गर्दै नियोजित रुपमा राजसंस्था फ्याकिएको बताएका छन् । ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार झापाको दमकबाट भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा ‘खोसिएको श्री पेच फिर्ता देऊ’ भनेका हुन् ।

भिडियो सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, ‘कालान्तरमा कतैबाट उत्पन्न अवाञ्छित भ्रमको चपेटामा देश पर्‍यो । झन्डै दुई दशकअघि शान्ति ल्याउँछौँ, आर्थिक समृद्धितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार हामीले श्रीपेच र राजदण्ड जनताको नासो जनताको सुरक्षित संरक्षणमा बुझायौँ र सहयोगी नियतका साथ राजकाज बाहिरिएको सर्वविदितै छ । यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन । न त यो भावना आमजनतामै थियो ।’

नारायणहिटी दरबारबाट आफु बाहिरिएको दुई दशक बित्दा पनि देशले संकटको सामना गरिरहनु परेकोप्रति चिन्ता व्यक्त गर्दै उनले हिजो देश नबनेकोमा चिन्ता थियो भने आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको भनी टिप्पणी गरेका छन् ।

पूर्वराजा शाहले अहिलेको संकटको निकास राष्ट्रिय सहमतिबाट खोज्नुपर्नेमा जोड दिएका छन् । जुन कुरा जेनजी विद्रोहका अभियन्ताहरुले समेत निरन्तर भन्दै आएका छन् । केही दिनअघि मात्रै राष्ट्रिय सहमतिबाट देशलाई निकास दिइसकेपछि मात्रै निर्वाचन गर्नु उपयुक्त हुने भन्दै जेनजीले माइतीघरमा प्रदर्शन गरेका थिए भने निकोलस भुसालसहित आन्दोलनका केही घाइतेहरु अनसन बसेका थिए ।

नयाँ शक्तिहरुप्रति टिप्पणी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ । राष्ट्रिय सहमतिविना निकास खोज्नु समय खेर फाल्नु मात्रै हो । समुन्नतिको यात्रामा सबै मिलेर अघि बढौँ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*