विशेष महाधिवेशनमा होमियो कांग्रेस, देउवाको पद धरापमा

काठमाडौं । विशेष महाधिवेशनका लागि काठमाडौं आएका कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले नेतृत्व परिवर्तनको माग राख्दै ठाउँ-ठाउँबाट र्याली निकालेका छन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा बोलाइएको छ । काठमाडौंका विभन्न ठाउँबाट निस्किएका र्यालीमा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्व परिवर्तनको नारा लगाएका छन् । योसँगै लगातार दुई कार्यकाल सभापति निर्वाचित भएका शेरबहादुर देउवाको पद धरापमा परेको छ ।
विशेष महाधिवेशन पक्षधरहरुका अनुसार यो भेलामा ५० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी नभए नेतृत्व परिवर्तनको एजेन्डा पारित हुनेछैन । बहुमत संख्या नपुगे संकल्प प्रस्ताव पारित गरेर विशेष महाधिवेशन समापन गर्ने तयारी छ ।
पार्टी सभापति शेरबहादुर देउवाको आफ्नै व्यवस्तता र उनलाई लामोसमय साथ दिएका नेताहरु समेत महाधिवेशनमा होमिएसँगै नेतृत्व उनको हातबाट फुत्किसकेको रुपमा चर्चा हुन थालेको छ । कतिपयले देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का स्वयं विशेष महाधिवेशनमा उपस्थित हुने समेत भनिरहेका छन् ।
लामो समयदेखि सभापति देउवाको समर्थक र सहयोगी बन्दै आएका पार्टी पूर्वउपसभापति गोपालमान श्रेष्ठले विशेष महाधिवेशनमा सहभागी हुने घोषणा गरिसकेका छन् । उनी देउवालाई साथ दिँदै आएका सात शक्तिशाली नेतामध्ये एक हुन् । देउवाको साथमा अब कार्यवाहक सभापति खड्का, नेता विमलेन्द्र निधि, सहमहामन्त्री जीवन परियार, नेता डा. मीनेन्द्र रिजाल, बालकृष्ण खाण, डा. प्रकाशशरण महतलगायत छन् ।
बन्दसत्रमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भए नयाँ नेतृत्व नै चयन गर्ने, नभए महाधिवेशनलाई भेलामा परिणत गरेर संकल्प प्रस्ताव पारित गर्ने तयारी छ । आठ दशकको कांग्रेस इतिहासमा विशेष महाधिवेशन हुन लागेको यो दोस्रोपटक हो । यसअघि ०१४ मा विराटनगरमा विशेष महाधिवेशन गरी बीपी कोइराला सभापति निर्वाचित भएका थिए ।













