एनएमबि बैंकले लिलाम गरेको करोडौं पर्ने घर विप्लवको कब्जामा, न्यायोचित ढङ्गले छानबिनको माग

२७ पुष २०८२, आईतवार १३:४३

काठमाडौँ । बैंकले कानुनी रुपमा नै लिलाम गरेको घरलाई पार्टीले कब्जा गरेको घटना बाहिर आएको छ । एनएमबि बैंक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको हो ।

शुक्लाफाँटा नगरपालिका–१० का अजय विकले २०७५ सालमा १५ वर्षको कर्जा भुक्तानी अवधि राखी होम लोन शिर्षकमा २९ लाख ५० हजार रुपैयाँ कञ्चनपुरको एनएमबि बैंकको झलारीबजारमा रहेको शाखाबाट ऋण लिएका थिए । ऋण बापत विकले झलारी बजारमा रहेको पाँच धुरमा बनेको दुई करोड मूल्य बराबरको घर लिलाममा राखेका थिए । सुरुवातमा उनले नियमित रुपमा कर्जा तिर्दै आइरहेका थिए । केहि समयपछि कोभिड १९ ले आयो । विकले सो पश्चात ऋणको साँवाब्याज तिर्न सकेनन् । उनले ऋण तिर्ने नै नसकेपछि सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नु बैंकको दायित्व रहेको भन्दै २०८० चैतमा बैंकले उक्त घर नै लिलाम गर्यो ।

आफ्नो करोडौको घर लिलाम परेपछि विक सडकमा आए । उनले थप समय माग गरेपनि बैंकले करिब लामो समय दिइसकेको हुँदा थप बढाउन सकेन । सो पश्चात धितो लिलाममा जालसाजी र किर्ते गरेको भन्दै विक प्रहरी जाहेरी दिन पुगे । लिलाम घर किन्ने धीरेन्द्र साउद, उनकी श्रीमती तुलसीकुमारी डाँगा र बाटो सिफारिस दिने वडा नम्बर १० का वडासचिव जुनाकुमारी सेराविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिए ।

विकले घर लिलामका लागि बैंकले १५ दिने सूचना थाहा पाएपछि लिलामी नगरिदिन भनेर ३ लाख नगद र १ लाखको चेक बोकेर बैंक गएका थिए । तर, बैंकले सबै प्रक्रिया पुगि सकेको हुँदा अब लिलाम नै जाने भन्दै उक्त रकम बुझ्न नै मानेन् । शाखाका प्रमुख दीपक कार्कीले प्रक्रिया अघि बढी सकेको भन्दै विकले ल्याएको पैसा जम्मा गर्ने नै मानेनन् ।

अहिले सो घर विप्लवले कब्जा गरेको छ । अन्याय पूर्ण रुपमा सर्वसाधारण घर लिलाम गरेको विरुद्धमा विप्लवले अहिले सो घरमा आफ्नो झण्डा फहराएको हो । विक परिवारलाई आत्महत्या गर्न बाध्य पारेको र जानकारी नै नदिई घर कब्जा विप्लवको दाबी छ । यस विषयमा न्यायोचित ढङ्गले छानबिन नभएसम्म घर कब्जामा नै रहने जनाइएको छ ।

झलारी शाखाका ब्रान्च म्यानेजर दिपक कार्कीले पनि अहिले सो घर विप्लवले कब्जा गरेको स्वीकार गरे । तर, घर लिलाम कानुनसम्मत नै भएको दाबी गरे । बीमापोष्टसँग कुरा गर्दै उनले भने, ‘पैसा बुझाउन आएको भए हामीले लिलाम किन गर्ने होर ? अहिले बाहिर आएको कुरा सबै झुटो हो । हामीले कानुनसम्मत नै घर लिलामी गरेका थियौ । तर, अहिले विप्लवले आफ्नो ब्यानर राखेर कब्जा गरेको सूचना टासेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*