स्वचालित मूल्य प्रणालीको परिणामः आयल निगमले कमायो १३ अर्ब ६७ करोड खुद नाफा

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । निगमको ५६औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको र यस अवधिमा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई योगदान गरिएको जानकारी दिए । उनले निगम पछिल्ला वर्षहरूमा निरन्तर आर्थिक रूपमा सुदृढ बन्दै गएको उल्लेख गरे ।
डा. भट्टका अनुसार निगमको वित्तीय सुधारको मुख्य आधार २०७१ सालदेखि लागू गरिएको स्वचालित मूल्य समायोजन प्रणाली हो । यही प्रणालीका कारण निगम घाटाबाट बाहिर निस्कँदै दिगो नाफाको अवस्थामा पुगेको उनले बताए । साथै, पूर्वाधार विस्तारले ढुवानी लागत घट्नुका साथै व्यवस्थापनलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ ।
पछिल्ला वर्षमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, अमलेखगञ्जमा ठूलो क्षमताको भण्डारण गृह र पोखरामा हवाई इन्धन भण्डारण केन्द्र सञ्चालनमा आएपछि इन्धन आपूर्ति सहज बनेको निगमको दाबी छ । प्रविधितर्फ ‘फ्लो मिटर’ र ईआरपी प्रणाली लागू गरेर चोरी, चुहावट नियन्त्रण तथा कारोबारमा पारदर्शिता बढाइएको जनाइएको छ । यसले उपभोक्तालाई सस्तो इन्धन उपलब्ध गराउन सहयोग पुगेको निगमको भनाइ छ ।
आगामी दिनमा निगमले परम्परागत इन्धन व्यापारसँगै क्लिन इनर्जी र व्यवसायिक विविधीकरणमा जोड दिने योजना अघि सारेको छ । पेट्रोलमा इथानोल मिश्रण, हरित हाइड्रोजनको व्यावसायीकरण, नयाँ पाइपलाइन र डिपो निर्माण, दुर्गम क्षेत्रमा पेट्रोल पम्प विस्तार तथा संस्थालाई पब्लिक लिमिटेडमा लैजाने विषय अध्ययनको चरणमा रहेको डा. भट्टले जानकारी दिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सहित विभिन्न उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।













