चर्चित गायक प्रशान्त तामाङको निधनले विश्वभरका नेपाली भाषीहरु स्तब्ध

काठमाडौं । चर्चित नेपाली भाषाका गायक प्रशान्त तामाङको आज दुखद निधन भएको छ । भारतको नयाँदिल्लीस्थित निवासमै उनको हृदयघातबाट निधन भएको जनाइएको छ । इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधनले विश्वभरका नेपाली भाषीहरु स्तब्ध हुन पुगेका छन् । भारतीय नागरिक तामाङको ४३ वर्षको उमेरमा निधन भएको हो ।
आइतबार विहान घरैमा रहेको बेला गायक तामाङलाई हृदयघात भएको जनाइएको छ । लगत्तै नयाँ दिल्लीको द्वारकामा रहेको अस्पतालमा पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको परिवारका सदस्यहरुलाई उध्रित गर्दै प्राप्त समाचारमा जनाइएको छ ।
प्रेस ट्रष्ट अफ इण्डियाले आज विहान ९ बजे तामाङलाई चिकित्सकले मृत घोषित गरेको जनाएको छ । अरुणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएलगत्तै उनको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
निधनअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या वा असहजता देखिएको थिएन ।
भारतमा प्रख्यात इण्डियन आईडल ३ मा बिजयी भएर सिंगो भारतलाई सरप्राइज दिएका तामाङले पछिल्लो समय नेपाली गित संगितहरुमा निकै धेरै योगदान दिइसकेका थिए । त्यस्तै, हिन्दीमा समेत धेरै गितहरु गायका छन् । ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङ कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका थिए र प्रहरी ब्याण्ड (अर्केस्ट्रा) मा गीत गाउँथे । त्यहीबाट उनी इण्डियन आइडलमा सहभागी हुन पुगेका थिए । इण्डियन आइडलमा बिजयी भएपछि नेपालमा मात्रै नभएर विश्वभरका नेपाली माँझ प्रख्यात थिए ।
उनको निधनमा भारतका प्रख्यात गायक उदित नारायण झाले स्तब्ध बनेको प्रतिक्रिया दिएका छन् । उनले युवा अवस्थामै प्रशान्तले अमूल्य योगदान छोडेर गएको उल्लेख गर्दै शोक व्यक्त गरेका छन् ।
दार्जिलिङ, सिक्किम, मनिपुर आदि क्षेत्रमा मात्रै नभई नेपाल, भुटान, म्यानमार सम्म पनि प्रशान्तको निधनमा शोकमा डुबेको छ । त्यस्तै, नेपाल बाहिर रहेका नेपालीहरु दुबई, मलेसिया आदि क्षेत्रमा पनि शोक व्यक्त गरिएका छन् ।













