स्वावलम्बन लघुवित्तका सीईओले एक वर्षमा बुझे ४३ लाख तलब

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टले एक वर्षमा ४३ लाख रुपैयाँ तलब बुझेका छन्।
कम्पनीको सीईओ रही काम गरे बापत उनले गत आर्थिक वर्ष २०८१/८२ मा पारिश्रमिक मात्रै ४३ लाख १५ हजार रुपैयाँ बुझेका हुन्। जसबाट उनले ९ लाख ९३ हजार रुपैयाँ कर तिरेका छन्।
त्यसैगरी कम्पनीले गत आर्थिक वर्षमा सञ्चालकहरूलाई बैठक भत्ता बापत १७ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरेको छ भने सञ्चालक समितिको बैठक सञ्चालन गर्न चाहिने अन्य खर्चमा ८ लाख ७२ हजार रुपैयाँ भुक्तानी भएको छ।
त्यसैगरी गत आर्थिक वर्षमा अन्य पदाधिकारीहरूको पारिश्रमिक बापत कम्पनीले १ करोड ७८ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको छ। यता गत असार मसान्तसम्म शेयरधनीहरूले बुझिलिन बाँकी लाभांश रकम मात्रै ४ करोड ६५ लाख ८३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
गत आवमा कम्पनीको कुल व्यवस्थापन खर्च १ अर्ब ६ करोड ९८ लाख ९ हजार रुपैयाँ रहेकोमा कर्मचारीहरूमा मात्रै ९१ करोड ५७ लाख ३० हजार र अन्य सञ्चालन बापत १५ करोड ४० लाख ७९ हजार रुपैयाँ खर्च भएको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ।












