थापा नेतृत्वको अध्ययन समितिले तयार गर्यो नेप्से पुनर्संरचनाको खाका, के-के विषय छन् समावेश ?

२८ पुष २०८२, सोमबार १३:०३

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचना, प्रणाली र सञ्चालनमा सुधार ल्याउने उद्देश्यसहित गठित प्रकाशजंग थापा नेतृत्वको अध्ययन समितिले आफ्नो प्रतिवेदन अन्तिम रूप दिएको छ। समितिले अर्थमन्त्री रामेश्वर खनालसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने अन्तिम तयारी गरेको हो ।

प्रतिवेदनमा नेप्सेलाई आधुनिक, प्रतिस्पर्धी र पारदर्शी संस्थाका रूपमा रूपान्तरण गर्न आवश्यक ठानिएका महत्त्वपूर्ण संरचनागत सुझावहरू समेटिएका छन्। समितिका एक सदस्यका अनुसार नेप्सेको पुनर्संरचनाका लागि आईपीओ निष्कासन गरी सर्वसाधारणलाई शेयरबिक्री गर्ने, विदेशी रणनीतिक साझेदार भित्र्याउने, चुक्ता पुँजी वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्‍याउने तथा भारत, बंगलादेश र पाकिस्तानमा लागू भएका मोडलहरू अध्ययन गरी त्यसअनुसार नेप्सेको पुनर्संरचना अघि बढाउन सकिने निष्कर्ष निकालेको छ। नेप्सेलाई सरकारी नियन्त्रणमुखी संस्थाबाट क्रमशः व्यावसायिक र बजारमुखी संस्थामा रूपान्तरण गर्नुपर्ने समितिको जोड छ।

सरकारले गत मंसिर २ गते नेप्सेको संरचना, प्रणाली तथा सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको थियो। ५० दिनको समयावधि तोकिएको उक्त समितिले सरोकारवाला निकायहरूसँग छलफल, अध्ययन तथा अन्तर्राष्ट्रिय अभ्यासको समीक्षा गर्दै प्रतिवेदन तयार गरेको हो। समितिमा नेप्से, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्यका रूपमा रहेका छन् भने अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव छन् ।

प्रतिवेदनमा हालको नेप्सेको स्वामित्व र व्यवस्थापन संरचनाले बजारको आवश्यक गतिशीलता दिन नसकेको उल्लेख गरिएको छ। सरकारी स्वामित्व प्रधान संरचनाका कारण निर्णय प्रक्रिया ढिलो हुने, प्रविधि तथा मानव संसाधन विकासमा अपेक्षित लगानी नहुने र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा सामना गर्न नेप्से कमजोर हुँदै गएको समितिको ठहर छ। यही कारण नेप्सेको पुनर्संरचना अपरिहार्य भएको प्रतिवेदनले औंल्याएको छ।

समितिले नियामक निकाय र नेप्सेबीचको भूमिकालाई स्पष्ट र सन्तुलित बनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ। नेप्से सञ्चालनमा व्यावसायिक स्वतन्त्रता आवश्यक भए पनि नियामकको प्रभावकारी निगरानी अपरिहार्य हुने समितिको निष्कर्ष छ। यसका लागि कानुनी तथा नीतिगत सुधार पनि आवश्यक पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*