टिचिङ अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्ने घोषणा

२८ पुष २०८२, सोमबार १४:३६

काठमाडौं  । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले (टिचिङ अस्पताल) स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सबै उपचार सेवा आगामी माघ १ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डबाट लामो समयदेखि भुक्तानी नपाउँदा आर्थिक अवस्था संकटमा परेको भन्दै उक्त कार्यक्रम बन्द गर्ने लागेको हो ।

बीमा बोर्डसँग करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको अस्पतालले जनाएको छ। मासिक ५ करोडभन्दा बढी खर्च हुने अस्पतालले भुक्तानीको करिब ५० प्रतिशत मात्र स्वीकृत हुने र उपचार दररेटमा ठूलो अन्तर रहेकाले थप घाटा सहन नसक्ने अवस्था आएको बताएको छ।

विगत दुई वर्षदेखि आन्तरिक स्रोतबाट खर्च धान्दै आएको अस्पतालले अब थप आर्थिक दबाब सहन नसक्ने अवस्था आएको जनाएको छ। भुक्तानी अभावका कारण औषधि तथा स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई पनि पाँच महिनादेखि रकम दिन नसकिएको अस्पतालले जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार देशभरका सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*