पुँजी बजारमा करेक्सनः बिक्री तिर हाबि लगानीकर्ता, ‘अबको यात्रा यस कारण सकारात्मक छ’

काठमाडौँ । शेयर बजारमा करेक्सन देखिएको छ । गत शुक्रबार सामान्य अकंले बढेको बजार आज ओरालो लागेको हो । केही दिनदेखि लगातार हरियाली देखिनुले लगानीकर्ताको मनोबल बलियो बनाएको थियो, तर आजको करेक्सनले बजारमा सन्तुलन कायम गर्ने अवसर दिएको विश्लेषकहरूले बताएका छन् । करेक्सनपछि बजार थप मजबुत आधारमा अघि बढ्ने विश्वास लगानीकर्ताले व्यक्त गरेका छन् ।
देशको राजनीतिक परिस्थितिले पनि शेयर बजारलाई सकारात्मक संकेत दिएको छ । हाल जेनजी आन्दोलनपछि निर्वाचनतर्फ अगाडि बढेको अवस्था र आगामी दिनमा नयाँ नेतृत्व चयन हुने प्रक्रियालाई बजारले उत्साहजनक रूपमा लिने अपेक्षा गरिएको छ। अहिले देशभर करिब ६२ हजारभन्दा बढी लगानीकर्ता सक्रिय छन् भने सरकारले समेत बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने विश्वास देखिएको छ।
नियामक निकायहरू पनि शेयर बजारप्रति सकारात्मक देखिएका छन् । बजारमा प्रभाव पार्दै आएका केही नीतिगत अवरोधहरू क्रमशः हट्दै गएका छन्। नेपाल राष्ट्र बैंकले बजारलाई चलायमान बनाउन विभिन्न पहल गरिरहेको छ भने अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डले लगानीकर्ता–मैत्री नीतिहरू लागू गर्दै बजार सुधारको वातावरण सिर्जना गरिरहेका छन्।
विश्लेषकहरूका अनुसार निर्वाचनले बजारमा केही सामान्य असर पार्न सक्छ । नयाँ नेतृत्वको अन्योलका कारण केही लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहन सक्ने सम्भावना छ । यद्यपि, दीर्घकालीन रूपमा राजनीतिक स्थायित्व र नीतिगत स्पष्टताले बजारलाई सकारात्मक दिशामा लैजाने विश्वास कायम रहेको विश्लेषकहरूले बताएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले घटेर २६३५ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको हो ।














