मुक्तिनाथ विकास बैंकद्वारा ऋणीबाट बढी रकम असुली भएको स्वीकार, उजुरीपछि मेलमिलापको प्रस्ताव

फलोअफ:-
काठमाडौँ । ऋणीलाई गुमराहमा राख्दै रकम ठगी गरेको घटनालाई मुक्तिनाथ विकास बैंकले अप्रत्यक्ष रूपमा स्वीकार गरेको छ । ऋण भुक्तानी गर्दा ग्राहकको बढी रकम काटेर घटनामा बैंकका अधिकारीहरू नै समर्थन जनाएको देखिएको हो ।
नवलपरासीको गैँडाकोट–५ निवासी ख्याम नारायण पराजुलीले घर निर्माण र व्यवसाय विस्तारका लागि लिएको कर्जामा बैंकले व्यक्तिगत खाताबाट १२ लाख रुपैयाँ बढी रकम काटेको उजुरी नेपाल राष्ट्र बैंकमा पुगेको थियो । राष्ट्र बैंकको गुनासो शाखासँगको छलफलमा बैंकले ठगी भएको घटना अप्रत्यक्ष रूपमा स्वीकार गर्दै मेलमिलापको प्रस्ताव गरेको पाइएको हो ।
पराजुलीले २०७० सालमा घर निर्माणका लागि १९ लाख ५० हजार रुपैयाँ र २०७४ सालमा व्यवसाय विस्तारका लागि थप ४० लाख रुपैयाँ कर्जा लिएका थिए । कोरोनाको समयमा व्यवसाय थप्प भएपछि उनले कर्जा भुक्तानी गर्ने नसक्दा सम्पत्ति नै बेचेर बैंकको कालोसूची बच्ने रणनीति बनाए । २०७९ साल पुस मसान्तमा आफ्नो सम्पत्ति बेचेर सम्पूर्ण ऋण चुक्ता गरे तर बैंकले दिनुपर्ने ऋणमा १२ लाख रुपैयाँ बढी रकम उनको व्यक्तिगत खाताबाट तान्यो । बैंकले बढी रकम काट्नुको प्रमाण नदेखाएपछि पराजुलीले आफू ठगीमा परेको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । बैंकले उनको नाममा विभिन्न शीर्षकको कर्जा देखाई १२ लाख रुपैयाँ तानेको थियो । तर, पराजुलीले बैंकसँग कर्जा लिएको प्रमाण, हस्ताक्षर, छाप वा आधिकारिक कागजात देखाउन आग्रह गरे पनि बैंकले कुनै प्रमाण उपलब्ध नगराएपछि राष्ट्र बैंकमा उजुरी दिएका थिए ।
गुनासो शाखाले उक्त उजुरी माथि अनुसन्धानका क्रममा बैंक कम्पनी सचिव डण्डपानी ढकाल टिम र पीडित पराजुलीलाई छलफलमा बोलाएको थियो । गुनासो शाखाले ग्राहकको समस्या समाधान गर्नु बैंकको दायित्व रहेको कुरालाई उठाएपछि बैंकले मेलमिलाप तिर जाने प्रस्ताव राख्यो । ऋणीले समेत आफूले न्याय पाउने भए मेलमिलापमा जाने कुरा स्वीकार गरे । बैंक र ऋणीले नै मेलमिलापलाई स्वीकार गरेपछि राष्ट्र बैंकले मेलमिलाप गरी राष्ट्र बैंकलाई जानकारी दिन भन्यो । राष्ट्र बैंकको अनुसन्धानमा क्रममा बैंकले मेलमिलापको प्रस्ताव राख्नुको अर्थ नै बैंकले त्रुटि स्वीकार गरेको बुझ्न सकिन्छ ।
राष्ट्र बैंकसँग भन्यो मेलमिलाप तर ऋणसँग बैंकको अझै बार्गेनिङ
राष्ट्र बैंकसँग मेलमिलापमा जाने कुरा गरेर आएको एक हप्तापछि पीडितलाई बैंकका सचिव ढकालले छलफलका लागि बोलाए । तर, छलफलमा क्रममा ढकालले पराजुलीसँग बार्गेनिङ गरेको पाइएको छ ।
पराजुलीकी श्रीमतीले बैंकअन्तर्गतको नारायणघाट शाखाबाटै सेवा सञ्चालन गरिरहेको मुक्तिनाथ माइक्रो फाइनान्सबाट ७ लाख रुपैयाँ लघु उद्यमी कर्जा लिएकी थिइन् । उनी मासिक रूपमा ऋण भुक्तानी गर्दै आएकी थिइन् र करिब २ लाख रुपैयाँ भुक्तानी गरेपछि उनको निधन भयो । लघु उद्यमी कर्जा अन्तर्गत सदस्यको निधन भएमा बीमा, ग्राहक संरक्षण कोष वा राहत कोषबाट कर्जा मिनाहा हुने व्यवस्था छ। साथै परिवारले समेत केही राहत रकम पाउने व्यवस्था रहेको छ तर बैंकले उक्त प्रक्रियालाई नजरअन्दाज गर्दै पराजुलीको ऋणसँग जोडेर बार्गेनिङ गरेका हुन् । ऋणीसँग अगाडिको यो कर्जाको कुरा नउठाएमा मृतक पत्नीको कर्जा मिनाहा र राहत पाउने व्यवस्था मिलाउन सकिने प्रस्ताव ढकालले राखेका थिए । उक्त प्रस्ताव यसअघि बैंकको नारायणघाट शाखा प्रमुख श्याम तिमल्सिना र क्षेत्रीय प्रतिनिधि नम्रता श्रेष्ठले समेत राखेका थिए । उक्त बार्गेनिङले बैंकले ऋणी रकम ठगी गरेको थप पृष्टि भइरहेको हो ।
तर, उक्त प्रस्ताव पराजुलीले अस्वीकार गरेपछि ढकालले ४/५ दिनमा सञ्चालक समितिको बैठकमा यो प्रस्ताव लगेर समाधान गर्ने आश्वासन दिएका थिए । उनले बोर्ड बैठकपछि सो मुद्दामा समाधान निस्किने कुरा राखे । तर, १ महिनासम्म पनि उक्त समस्या समाधान गर्ने सकेको छैन ।
यता, कम्पनी सचिव ढकालले भने बैंकको वार्षिकोत्सव परेको कारण पराजुलीको समस्या समाधान गर्ने ढिलाइ भएको बताए । बीमापोष्टसँग कुरा गर्दै उनले भने, ‘हामीले उहाँको समस्या समाधान गर्ने नै हो के कति सकिन्छ । तर, हाम्रो वार्षिकोत्सवका कारण केही ढिलाइ भएको छ । बोर्ड बैठक समेत बस्न सकेको छैन । अब केही समयमा सम्बोधन हुन्छ ।’
मुक्तिनाथ विकास बैंकको व्यवहारले ग्राहकलाई ठगीको सिकार बनाउने मात्र नभई वित्तीय प्रणालीको आधारभूत नियम र नैतिक मूल्यको उल्लङ्घन गरेको देखिन्छ ।
सम्बन्धीत समाचार:-













