पेस्तोल देखाएर फरवार्ड माईक्रोफाइनान्सका कर्मचारीमाथि लुटपाट

काठमाडौँ । सर्लाहीमा फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि लुटपाट भएको छ। आइतबार संस्थाको ईश्वरपुर शाखा कार्यालयमा कार्यरत कर्मचारी पुजा सरदार र शान्ति सरदारमाथि मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोल देखाई नगद लुटपाट गरी फरार भएको खुलेको हो ।
संस्थाका अनुसार दुई कर्मचारी लालबन्दी नगरपालिका–३, जब्धीमा नियमित रूपमा सञ्चालन हुने केन्द्र बैठक सम्पन्न गरी कार्यालय फर्किंदै थिए। सोही क्रममा हरिपुर जाने सडकखण्ड अन्तर्गत पोखरीटोलमा उनीहरूलाई लक्षित गरी लुटपाट गरिएको हो।
घटनामा केन्द्र बैठकबाट संकलन गरिएको १ लाख ८४ हजार ७०५ रुपैयाँ नगद, साथै कार्यालय प्रयोजनका महत्वपूर्ण कागजातसहितको झोला लुटेर लुटेरा पूर्व दिशातर्फ फरार भएको संस्थाले जनाएको छ।
घटनापछि तत्कालै ईलाका प्रहरी कार्यालय बयलबासमा जानकारी गराइएको र सोही दिनदेखि खोजतलास सुरु गरिएको संस्थाले बताएको छ। साथै भोलिपल्ट घटनासम्बन्धी लिखित उजुरी समेत दर्ता गराइएको जानकारी दिइएको छ।
प्रहरी प्रशासनले घटनाका सम्बन्धमा पीडित कर्मचारी, शाखाका अन्य कर्मचारी तथा स्थानीय बासिन्दासँग सोधपुछ गरी जानकारी लिएको जनाएको छ। साथै घटना भएको सडकखण्डमा जडान गरिएका सीसी क्यामेराको जाँच गर्नुका साथै शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













