जीवन बीमाले फेरिएको पुष्पाको जिन्दगी, सिटिजन लाइफमा गरिन् लोभलाग्दो प्रगती

राजन कठायत
२८ पुष २०८२, सोमबार १७:११

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुँदैन । जिन्दगीको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला बीमा अभिकर्ता पुष्पा बुदुजाले निश्चित राजमार्गमा आफ्ना पाईलाहरू अगाडि बढाइरहेकी छिन् ।  शायद अब उनलाई ती अफ्ठ्यारा घुम्तीहरूमा फेरि ठोक्किन पर्ने छैन । ती अफ्ठ्यारा घुम्तिहरू पार गर्न उनलाई सिटिजन लाइफ इन्स्योरेन्सले ठूलो सहयोग गरेको छ । म्याग्दी जिल्लामा जन्मिएकी पुष्पा यतिबेला पोखरालाई कर्मथलो बनाएर बीमा व्यवसायमा तल्लिन छिन् ।

आफ्नो जिन्दगी बीमा क्षेत्रमा समर्पण गरेकी पुष्पा आफू र आफ्नो परिवारको सुन्दर भविष्य, आफ्ना इष्टमित्र, आफन्तजन तथा आम सर्वसाधारणलाई बीमाको माध्यमबाट जोखिम हस्तान्तरण गर्ने अनि देश निर्माणको लागि पूँजी जुटाउने महान् अभियानमा छिन् । उनको यात्रा निरन्तर चलिरहेको छ दैनिक रूपमा फैलिंदै र झाँगिदैछ ।

बीमा व्यवसायी भएसँगै उनको जिवन मात्रै होइन हजारौं मान्छेहरू जसले बीमा गराए वा बीमा अभिकर्ता बने उनीहरू समेत सुरक्षित भएका छन् । उनीसँग बीमा गरेका सयौं बीमितहरू यतिबेला जिन्दगीको घुम्तीमा कोही कतै दुर्घटना भएपनि सुरक्षित हुने बाटो तय गरेका छन् । सिटिजन लाइफमा करिव एक सय जना अभिकर्ताहरुको समुह उनको नेतृत्वमा बीमा व्यवसाय गरीरहेको छ ।

भनिन्छ मानिसको जीवनमा नयाँ मोड कतिबेला आउँछ त्यो त केवल नियतीलाई मात्रै थाहा हुन्छ । आफ्नो जीवनको सानो जोखिम रक्षावरण गर्न जीवन बीमा गर्दा उनको जीवनको गन्तव्य र लक्ष्य मात्रै फेरिएन अब जीवनको परिचय नै बद्लिएको छ । जीवनको सुरुवाती समयदेखि नै आफुलाई आत्मनिर्भर बनाउँले उद्देश्यले अघि बढेकी उनले २०७५ साल मंसिर महिनामा सिटिजन लाइफ इन्स्योरेन्सबाट बीमा व्यवसायको थालनी गरेकी हुन् ।

म्याग्दी जिल्लाको रघूगंगा गाउँपालिका–१ मा जन्मिएकी पुष्पा सानैदेखि पढाई–लेखाईमा रुचि राख्ने गर्थिन् । सयौं अभाव र समस्यासँग लड्दै बेनी सामुदायिक उच्च माध्यमिक विद्यालयबाट २०६९ मा प्लस उत्तिर्ण गरिन् ।

जीवनको गोरेटोमा प्लस टु पासपछि घर परिवारको सल्लाह बमोजिम वैवाहिक बन्धनमा बाधिन पुगिन् । विवाहका साथ–साथै २०६९ सालदेखि नै सोसियल मोबिलाइजरको रुपमा कार्यरत रहेकी थिइन् । छोरीहरुको लालन–पालनमा समय दिन नसक्ने भएपछि उनले आफ्नो जागिरी गुमाइन्। तर पनि हिम्मत हारेकी थिइनन् । केही समयपछि आफुलाई पायक पर्ने समयमा गर्न सकिने पेशाको रुपमा अभिकर्ता पेशालाई आत्मसाथ गरेर अघि बढ्ने निधो गर्छिन् । सोही अनुरुप केही वर्ष एक जीवन बीमा कम्पनीमा अभिकर्ता बनेर व्यवसाय गरिन्, तर त्यहाँ आफुलाई अनुकुल वातावरण नबनेपछि जेठानी दिदीको सल्लाहमा सिटिजन लाइफ इन्स्योरेन्स प्रवेश गरिन् ।

दुई वर्षको छोरीलाई समेत आफैसँग बोकेर आम नागरिकको घरदैलोमा जीवन बीमा गराउँनको लागि हिड्ने गरिन् । लगातारको मिहिनेत र कडा संघर्षले उनी सिटिजन लाइफ पोखरा शाखाकी सर्वोत्कृष्ट एजेन्सीको रुपमा आफ्नो परिचय बनाउँन सफल भएकी छिन् ।

‘मैले आफ्ना साना छोरीहरुलाई बोकेर एक्लै पोखरा झरेको थिए । छोरीहरुको हेरचाह गर्दा जागीरमा समय दिन नसक्दा मैले जागीर नै छोडिदिए । पछि विस्तारै मैले आफुलाई पायक पर्ने समयमा गर्न मिल्ने तरिकाले अभिकर्ता पेशालाई अंगालेर अघि बढेको थिए ।’ उनले भनिन्, ‘मेरी जेठानी दिदी र सिटिजन लाइफ इन्स्योरेन्स पोखरा शाखाकी ब्रान्च म्यानेजर सरिता पोखरेल भट्टराईको सल्लाह र हौसलाले सिटिजन प्रवेश गरेको थिए । उहाँहरुलाई म आज ह्दयबाट नै धन्यवाद दिन चाँहान्छु ।’

घरधन्दा र जागिरीबाट बाहिरी दुनियाँ नदेखेकी उनले सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएपछि तारा ताल चितवन, त्रिशुली नदी लगायतका विभिन्न ठाउँहरुको भ्रमण समेत गरेकी छिन् । पोखराको फुलबारीमा ब्यूटी पार्लर सञ्चालन गर्दै आएकी पुष्पालाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने मनभित्र डर त थियो तर त्योभन्दा ठूलो आँट, विश्वास र सफल भएरै छाड्ने उनमा दृढता थियो । त्यही दृढताले आज उनलाई सिटिजन लाइफको व्यवसायिक तथा सफल एजेन्सी म्यानेजरको रूपमा सबैले चिनेका छन् ।

‘बीमा क्षेत्रमा आएपछि आफ्नो निश्चित उद्देश्य तथा लक्ष्य बनाएर अघि बढ्नुपर्छ यसैमा धेरै पैसा छ र अर्को कुरा विदेश जान आवश्यक नै छैन । अभिकर्ताहरूले विभिन्न प्रलोभन देखाएर कहिल्यै बीमा गराउनु हुदैन । शर्तमा भएका कुराहरू उल्लेख गरी बीमा गराउँदा दाबी भुक्तानी तथा भविष्यमा कुनै पनि प्रकारका समस्या आउँदैनन् । केही अभिकर्ताहरुको गल्तीको कारण आजभोलि हामीले विभिन्न नानाथरी कुरा सुन्नु पनि परेको छ ।’

सिटिजन लाइफ इन्स्योरेन्स प्रवेश भएसँगै उनले व्यक्तिगत कोडमा करिव ५ सय नागरिकहरुको जीवन बीमा गरी सकेकी छिन् । उनले भनिन्, ‘मलाई यो पेशाले आर्थिक तथा सामाजिक रुपमा आफुलाई स्थापित गराउँन निकै सहयोग गरेको छ । यत्रो समय जव गरे केही पाएन, तर यसमा आर्थिक सहायताका साथ साथै सन्तुष्टी पाएको छु ।’ अभिकर्ता पेशाबाट आर्थिक रुपमा आत्म निर्भर हुनुका साथै मान सम्मान कमाएकोप्रति उनी निकै खुशी छिन् ।

जागीरी जीवनमा गाउँ समाजमा सीमित रहेको उनको परिचय आजभोली सिटिजन लाइफ इन्स्योरेन्समार्फत देशभरी परिचित छिन् । उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर आमा बुवाका लागि एक असल छोरी र श्रीमानको लागि एक असल तथा जिम्मेवार श्रीमती बन्न सफल भएकी छिन् ‘आफ्नो घरपरिवारसँग दुःख सुख बिताउँदै कसैको करकाप सहनु नपर्ने र कुनै लगानी गर्नु नपर्ने, स्वतन्त्र रूपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो यसैले मलाई यसमा आकर्षित बनाएको हो। यसमा साम दामका साथै इज्जत पनि छ ।’

‘मैले आफुलाई विश्वास गर्ने मानिसहरुको जीवन बीमा गराएको छु । अव यता गाउँ घरमै बसोबास गरीरहेका मानिसहरुले क्षमता अनुसारको साना–साना पोलिसी लिएका छन भने विदेशमा भएका मानिसहरुले ठूलो पोलिसी लिएका छन् ।’

‘आफु लगातार लागेको खण्डमा अभिकर्ता पेशा सजिलै जस्तो लाग्छ । राम्रो छ । तर, कुनै अभिकर्ताहरुको गलत विगतका कारण कहिले काहि विभिन्न कुराहरु सुन्नु परेको छ । दावी भुक्तानीमा बीमितले नै कागजात संकलन गर्न नसक्दा समेत दावी दिएन्, ढिला दियो भन्ने लगायतका भास्य पैदा गरिएका छन् । यस्ता कुराहरुलाई चिरेर अघि बढ्न आवश्यक छ ।’

‘मैले सकेसम्म जीवन बीमा छोड्दीन । यसै पेशालाई आउँदा दिनमा पनि आत्मसाथ गरेर अघि बढ्ने निधो बनाएकी छु । मेरो श्रीमान विदेशमा हुुनुहुन्छ । उहाँले मैले गर्ने सम्पूर्ण कामलाई साथ सहयोग र हौसला दिनु भएको छ । जसका कारणले मैले यो सफलता हासिल गरेकी छु । यदि श्रीमानको साथ सहयोग नपाएको भए त अहिले मेरो जीवन अर्कै हुन्थ्यो होला।’

‘सिटिजन लाइफ इन्स्योरेन्स प्रवेश गरेको सुरुवाती वर्षमै पोखरा शाखाको एकमात्र एमडीआरटी लक्ष्य हासिल गर्ने एजेन्सी बन्न सफल भएको थिए । मैले कम्पनीमा पटक–पटक गोल्ड क्लब, ब्रोन्ज क्लव, सिल्भर तथा विभिन्न टुरहरुमा समेत गएर अनुभव बटुलेकी छु ।’

सिटिजन लाइफमा प्रवेश गरेसँगै पुष्पाको जीवनमा आमूल परिवर्तन आएको छ । उनी अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले देशका सयौं नागरिकहरूको बीमा गरेर जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*