भारतको हिमाचलमा सिलिण्डर पड्किंदा ९ जना नेपालीको मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिण्ड पड्किंदा ९ जना नेपालीले ज्यान गुमाएका छन्।
ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सोही आगलागीमा परी ९ जना नेपालीको ज्यान गएको हो। ज्यान गुमाउनेहरू सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ का रहेको बताइएको छ।
ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक र उनका परिवार उनकी श्रीमती ३२ वर्षीय कविता विक, छोरी १६ वर्षीय राधा विक, १० वर्षीय रेणुका विक र राजन विक रहेका छन्।
त्यसैगरी ४७ वर्षीय काशिराम विक र उनका परिवार श्रीमती ३२ वर्षीय टीका विक, छोरी १२ वर्षीय अनु विक र छोरा ७ वर्षीय किरण विक रहेका छन्। एकै वडाका २ परिवारका ९ सदस्यले ज्यान गुमाएपछि वडाभर मंगलबार शोक बिदा दिइएको छ।
उनीहरू दुवैको परिवार नै हिमाचलमा काम गर्न गएका हुन्। घटना सोमबार बिहान करीब साढे २ बजेतिर भएको हो। एउटा घरमा सिलिण्डर विष्फोट भएर आगलागी भएपछि वरपरका घरहरूसम्म सल्किएको हो। उनीहरूको निसास्सिएर ज्यान गएको हुनसक्ने ठानिएको छ।













