मकरीगाड हाइड्रोपावर स्थानियको घेराबन्दीमा, ‘आयोजना प्रभावितलाई ८० प्रतिशत शेयर चाहियो’

२९ पुष २०८२, मंगलवार १२:२३

काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर सुनिश्चित गर्नुपर्ने मागसहित स्थानीयले विरोध जनाएका हुन् ।

कम्पनीले सेयर निष्कासनको तयारी गरिरहेको अवस्थामा प्रभावित स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यसका लागि स्थानीयले ‘मकरीगाड सेयर वितरण संघर्ष समिति’ गठन गरी कम्पनी व्यवस्थापनलाई ज्ञापनपत्र बुझाएका छन् ।

संघर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा विपन्न स्थानीयलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, आयोजनाका कारण प्रभावित सडक खण्डमा पक्की पर्खाल तथा तटबन्ध निर्माण गर्नुपर्ने, प्रभावित बस्तीमा आवश्यक पूर्वाधार विकास गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ । पानीका मुहान सुक्ने स्थानमा खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने र विस्थापित परम्परागत पानी घट्टको सट्टा नयाँ घट्ट निर्माण गर्नुपर्ने माग स्थानीयको छ ।

त्यसैगरी, आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गर्नुपर्ने र आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने माग समेत कम्पनीसमक्ष राखिएको छ । ज्ञापनपत्रमा उल्लेखित माग तीन दिनभित्र सम्बोधन नगरिए आयोजना बन्द गर्ने चेतावनीसमेत दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*