नेपाल माइक्रो इन्स्योरेन्समा नक्कली दाबीको बिगबिगी, एक बर्षमा कर्मचारीसहित १० जना प्रकाउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा कर्मचारीको नक्कली बीमा दाबीको बिगबिगी भएको पाइएको छ। कम्पनीका कर्मचारीको संलग्नतामा नै नक्कली दुर्घटना गराई बीमा दाबी गराएको पाइएपछि यो बर्षमात्रै १० जना प्रकाउ परेका छन् भने ३१ जनाविरुद्ध अदालतमा मुद्दा दायर भईसकेको छ ।
कम्पनीभित्र यसअघि गत भदौमा मात्रै करिब ६० लाख रुपैयाँ भुक्तानी लिने गिरोह पक्राउ परेको घटनाक्रम रोकिन नपाँउदै पाँच महिनामा अर्को नक्कली बीमा दाबी भएको पाइएको छ।
यसअघि वि एण्ड वि अस्पतालको नक्कली कागजपत्र बनाई तेस्रोपक्ष बीमाको दाबी लिने ६ जनालाई प्रहरी कार्यालय तिनकुनेले प्रकाउ गरेको थियो । उक्त घटना भएको पाँच महिनामा नै सोहि बीमा कम्पनीकै कर्मचारीसहित ३१ जनाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएपछि यस्तो तथ्य खुलेको हो । सोमबार सो कम्पनीका कर्मचारी बिकेश कुँवर, प्रहरी हवल्दार धुव्र शाहीलगायतविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले लिखित किर्ते मुद्दा दायर भईसकेको छ ।
बीमा दाबीका नाममा ठगी गर्ने सो गिरोहसँग कम्पनी कै कर्मचारीको पनि मिलेमतो रहेको प्रहरीको दाबी छ । ‘ठगी गिरोहले दुर्घटनाको दाबी पेश गरेपछि घटनाबारे बुझन जाने कर्मचारीले कम्पनीलाई झुठ्ठा विवरण दिएर ठगी गर्न सघाएको पाइएको छ । ती कर्मचारीले प्रत्यक्ष निरीक्षण गर्न जाँदा कुनै पनि त्रुटि नभेटिएको विवरण बुझाए पछि कम्पनीलाई शंका लागेको रहेछ,’ प्रहरीले जनाएको छ ।
यसअघि कर्मचारी प्रति शंका लागेपछि कम्पनीले कानूनी सल्लाहकारलाई घटनाबारे बुझन पठाएको थियो । कानूनी सल्लाहकारले दाबीमा नक्कली विवरण पेश भएको कम्पनीलाई जानकारी गराएका थिए । त्यसपछि कम्पनीले प्रहरीलाई उजुरी गरेको थियो ।
दुर्घटना बीमाको दाबी पेश गर्दा ठगी गिरोहले ललितपुरको ग्वार्काेमा रहेको वि एण्ड वि अस्पतालबाट नक्कली कागजात बनाएका थिए । यसैगरी, उनीहरुले सरकारको विभिन्न निकायहरुको फेक स्ट्याम्प तथा फेक लेटर प्याड पनि बनाएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।
सरकारी वकिल कार्यालयको अभियोगपत्रअनुसार उनीहरूले २९ वटा काल्पनिक दुर्घटना खडा प्रहरीको नक्कली पत्र बनाएका थिए । त्यसमध्ये २७ वटा पत्रअनुसार तीन लाख रुपैयाँका दरले ८१ लाख रुपैयाँ बीमा भुक्तानी लिइसकेका थिए । ठगीका योजनाकार पर्सा घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ४४ वर्षीय हरि बुढाथोकी हुन् । मुद्दा दायर गरिएका ३१ मध्ये बस व्यवसायी बस्नेतलाई मात्र प्रहरीले पक्राउ गरी उपस्थित गराएको छ ।
प्रहरी सम्क्ष बयानमा भनिएको छ, ‘म जीविकोपार्जनका लागि बा२ख ७८१४ नम्बरको मिनिबस खरिद गरी गाडीमा ड्राइभर राखी चलाउन दिँदै आएको छु । सोही क्रममा नेपाल माइक्रो इन्स्यारेन्सका कर्मचारी बिकेश कुँवरसँग एक वर्षअघि इन्स्योरेन्सकै सिलसिलामा चिनजान भएको थियो । निजसँग मेरो सल्लाह भई काल्पनिक दुर्घटना देखाई बीमा दाबी गर्ने योजना बनाएका थियौँ ।’
दुर्घटनाको सिफारिसका लागि हवल्दार धुव्र शाहीसँग उनीहरूले सेटिङ मिलाएका थिए । शाहीले प्रहरी वृत्त बानेश्वरका श्याम खनालको हस्ताक्षर भएको दुर्घटनासम्बन्धी सिफारिस बनाइदिने गरेका थिए ।
ठ्याक्कै प्रहरीले नै लेख्ने शैलीमा पत्र बीमा कम्पनी पुग्थ्यो र नक्कली दुर्घटनाको बीमा रकम भुक्तानी हुँदै आएको थियो । पछि शंका लागेर कम्पनीले प्रहरीमा उजुरी गर्दा सबै पत्र नक्कली भएको खुलेको थियो । तर, बिमाका कर्मचारी कुँवर र हवल्दार शाही पक्राउ नपर्दा यसमा संलग्न थप व्यक्तिबारेमा खुल्न सकेको छैन ।
मुख्य आरोपी बुढाथोकीले विभिन्न व्यक्तिको ब्लु–बुक र बैंक खाता नम्बर दुरुपयोग गरेको भेटिएको छ । उनीहरूको पनि मिलेमतो रहेको भन्दै प्रहरीले प्रतिवादी बनाएको छ ।
जसमा मनोज आचार्य, गंगा महर्जन, सुसन घिमिरे, कृष्णबहादुर महर्जन, प्रवीण महर्जन, निरुसा महर्जन, विनोद डंगोल, पुकार महर्जन, निरोज महर्जन, सुशील अर्याल, दयानाथ धिताल, जबिर हुसेन अन्सारी छन् । त्यस्तै, सुजन पाण्डे, हरिप्रसाद गौतम, सुदीप कार्की, सुमित्रा अर्याल, प्रजुना भण्डारी, जयराम चापागाईं, रामेश्वरी भण्डारी, निरबहादुर बुढाथोकी, शिव खड्का, गौरीबहादुर बुढाथोकी, खिनबहादुर थपलिया, उर्मिला थापा, सफल सुवेदी, लक्षण तामाङ, पवन भट्ट, रामबहादुर कार्कीको पनि मिलेमतो रहेको भन्दै फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ ।
बीमा कम्पनीमा हुने नक्कली दाबीको यो पहिलो घटना भने होइन । बीमाका नाममा साना ठुला धेरै ठगी हुने गरेको प्रहरीको भनाई छ । तर, कम्पनीहरुले भने ब्राण्ड जोगाउन मौन बस्ने गरेको प्रहरीले जनाएको छ।












