एआई दौडमा नयाँ मोड: सिरी र आईफोनलाई स्मार्ट बनाउन एप्पल र गुगलको सहकार्य

२९ पुष २०८२, मंगलवार १३:२२

काठमाडौँ ।  कृत्रिम बुद्धिमत्ताको तीव्र गतिमा अघि बढिरहेको प्रतिस्पर्धामा पछिल्ला केही वर्षदेखि अपेक्षित प्रगति देखाउन नसकेको एप्पलले अब आफ्नो भर्चुअल सहायक सिरी र आईफोनका एआई क्षमताहरू सुदृढ गर्न गुगलसँग सहकार्य गर्ने निर्णय गरेको छ। सिलिकन भ्यालीका यी दुई प्रविधि दिग्गजले सोमबार सार्वजनिक गरेको नयाँ समझदारीले एप्पलको एआई रणनीतिमा ठूलो मोड आएको संकेत गरेको छ।

समझदारीअनुसार आगामी पुस्ताका एप्पल उपकरणहरूमा समावेश गरिने कृत्रिम बुद्धिमत्ता सुविधाहरू गुगलको जेमिनी मोडेल र यसको क्लाउड प्रविधिबाट सञ्चालित हुनेछन्। विशेषगरी लामो समयदेखि सुधारको प्रतीक्षामा रहेको सिरी सहायकलाई बढी स्मार्ट, संवादात्मक र बहुकार्य गर्न सक्षम बनाउने दिशामा यो सहकार्य केन्द्रित रहने बताइएको छ। एप्पलले आफ्नो आन्तरिक ‘फाउन्डेसन मोडेल’ लाई अझ प्रभावकारी बनाउन गुगलको एआई प्रविधि उपयुक्त भएको निष्कर्षमा पुगेको जनाएको छ।

एप्पल र गुगलले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा एप्पलका एआई प्रणालीहरू कम्पनीको कडा गोपनीयता मापदण्डअनुसार नै सञ्चालन हुने स्पष्ट पारिएको छ। प्रयोगकर्ताको डाटा एप्पलका उपकरणहरू र निजी क्लाउड कम्प्युटिङ प्रणालीमै सुरक्षित रूपमा प्रशोधन हुने दाबी गरिएको छ। यसले तेस्रो पक्षको एआई प्रविधि प्रयोग गर्दा पनि प्रयोगकर्ताको निजी सूचनामा सम्झौता नहुने सन्देश दिन खोजिएको देखिन्छ।

एआई प्रविधिमा गुगल, माइक्रोसफ्ट, ओपनएआई र सामसङजस्ता कम्पनीहरूले आक्रामक रूपमा नयाँ फिचर ल्याइरहँदा एप्पल भने केही हदसम्म रक्षात्मक अवस्थामा देखिँदै आएको थियो। कम्पनीले २०२४ मा आईफोनका लागि ठूला सफ्टवेयर अपडेटमार्फत एआई फिचर ल्याउने प्रतिबद्धता जनाएको भए पनि तीमध्ये धेरै सुविधा अझै पूर्ण रूपमा तयार हुन सकेका छैनन्। यसबीच गुगल र सामसङले आफ्ना स्मार्टफोन र अन्य उपकरणहरूमा एआईलाई दैनिक प्रयोगको केन्द्रमा ल्याइसकेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*