शिखर इन्स्योरेन्सको २१औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव अग्रवालको अध्यक्षतामा बसेको सभा पुस २९ गते मंगलबार काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गरेको छ । साथै गत आवको वार्षिक र लेखापरीक्षणको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साथै २ जना सञ्चालकको निर्वाचन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियामक निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव बहुमतले पारित गरेको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गतेदेखि बुक क्लोज गरेको थियो । यसर्थ नेप्सेमा पुस १३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन लिएका थिए ।












