तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक श्रेष्ठद्वारा आर्थिक हिनामिना

काठमाडौँ । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकले बचतकर्ताको रकम हिनामिना गरेको पाइएको छ । सहकारी संस्थाका व्यवस्थापक श्रृष्टि श्रेष्ठले विभिन्न शीर्षकमा साधारण बचतकर्ताले जम्मा गरेको करिव डेढ लाख रुपैयाँ रकम विभिन्न समयमा अपचलन गरेको खुलेको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजारभित्र रहेका अधिकांश व्यवसायी सेयर सदस्य रहेको सो सहकारी संस्था केही अघिसम्म आर्थिक अनुशासन कायम राख्न सफल सहकारी संस्था हो । तर, व्यवस्थापकले नै आर्थिक अपचलन गरेको तथा सञ्चालक समितिका अध्यक्ष र सचिवले व्यवस्थापकलाई जोगाएको खबर सार्वजनिक भएसँगै सहकारी संस्थाको आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न खडा भएको छ ।
९४ करोड १९ लाख २९ हजार चार सय ४४ रुपैयाँ कुल सम्पीत्त रहेको सो सहकारी संस्थामा ८ करोड २७ लाख ७४ हजार एक सय सेयर पुँजी रहेको छ । आर्थिक हिनामिना गर्ने व्यवस्थापक श्रेष्ठलाई कुनै कारबाही नगरिएपछि २ हजार ६५३ सेयर सदस्य रहेको सहकारी संस्था नै संकटमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त भएको छ ।
बचतकर्ताको बचत व्यक्तिगत रुपमा प्रयोग गर्न नपाइने भए पनि व्यवस्थापक श्रेष्ठले पछिल्लो तीन वर्षयता मनलागी झिक्ने, खर्च गर्ने र पुनः जम्मा गर्ने गरेको पाइए पनि व्यवस्थापक श्रेष्ठलाई सञ्चालक समितिले कुनै कारबाही गरेको छैन ।
व्यवस्थापकलाई कारबाही गरेर जाँदा सेयर सदस्यहरूमा विश्वासको संकट आउन सक्ने भन्दै सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले मिलाएर जान खोजेका थिए । सचिव हरिकृष्ण धेके व्यवस्थापक श्रेष्ठलाई कुनै हालतमा कारबाही गर्न नहुने भन्दै अडान राखेपछि बचतकर्ताको रकम हिनामिना गर्ने व्यवस्थापक श्रेष्ठ जोगिएकी छन् ।
व्यवस्थापक श्रेष्ठले लामो समयदेखि बचतकर्ताको निक्षेप आफूखुसी निकाल्ने र व्यक्तिगत प्रयोजनमा खर्च गर्ने गरेको पाइएको छ । पछिल्लो पटक एक महिनाअघि श्रेष्ठले सहकारीको ५० हजार रुपैयाँ निकालेर व्यक्तिगत रूपमा चलाएकी थिइन् । यो विषय कर्मचारीहरुमार्फत् लेखा सुपरीवेक्षण समितिसमक्ष पुगेको थियो ।
त्यसपछि लेखा सुपरिवेक्षण समितिले सम्पूर्ण रिपोर्ट मगाउँदै आन्तरिक छानबिन गर्दा व्यवस्थापक श्रेष्ठले पटकपटक त्यसरी रकम निकालेर प्रयोग गर्ने गरेको तथा केही समयपछि जम्मा गर्ने गरेको पाइएको थियो । यसपछि लेखा सुपरिवेक्षणले व्यवस्थापक श्रेष्ठलाई कारबाही गर्न सञ्चालक समितिसमक्ष सुझाव दिएको थियो ।
यो विषय सञ्चालक समितिसमक्ष आएपछि सञ्चालकहरू कल्पना चौलागाईं, राजन पराजुली, शर्मिला श्रेष्ठ र ऋषिराम खतिवडाले वचतकर्ताको रकम अपचलन गर्ने व्यवस्थापकलाई तत्काल निष्कासन गर्न माग गर्दै अध्यक्ष र सचिव समक्ष बैठकको माग गरेका थिए । अध्यक्ष र सचिवले आन्तरिक छलफल गर्ने भन्दै लामो समय बैठक नराखेपछि सञ्चालक समितिका चारजना सञ्चालकले राजीनामा नै बुझाएका थिए । तर, उनीहरूको राजीनामा पत्र दर्ता नगरी फिर्ता गरिएको थियो ।
यो विषय सार्वजनिक भएपछि सहकारीका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार उज्वल कार्की, सल्लाहकारहरू भरत खतिवडा, दीपक अधिकारी, भगवानचन्द्र उप्रेती, गीता आचार्य, विष्णु रुपाखेतीले आर्थिक बदमासी गर्ने व्यवस्थापकलाई कारबाही नगरे सहकारी संस्था संकटमा पर्न सक्ने भन्दै कारबाहीको लागि दबाब दिएका थिए ।
आफूले गरेको आर्थिक अपचलन सार्वजनिक भएपछि व्यवस्थापक श्रेष्ठले सहकारी संस्थाको लेखा राख्ने सफ्टवेयरमाथि छेडखानी गर्दै पुरानो मिति ९ब्याकडेट०मा रकम दाखिला गरेकी थिइन् । व्यवस्थापकले सफ्टवेयरमा छेडखानी गर्दै ब्याकडेट राखेर रकम दाखिला गरेपछि लेखा सुपरीवेक्षणले त्यसकोसमेत प्रमाण राखेर सञ्चालक समितिसमक्ष व्यवस्थापकमाथि कारबाहीको लागि माग गरेको थियो ।
तर, बदमासी गर्ने व्यवस्थापकलाई कारबाही नगरी उल्टै एक अर्ब कुल सम्पत्ति पुग्न लागेको सहकारीको तालाचावी सुम्पिँदा कुनै पनि बेला सहकारी संस्था दुर्घटनामा पर्न सक्ने भन्दै कर्मचारीहरूले समेत सामूहिक राजीनामा बुझएका थिए । तर पनि व्यवस्थापकमाथि कारबाही भएन ।
‘विशेष गरी सञ्चालक समितिका सचिवले व्यवस्थापकलाई जोगाउन खुब जोड लगाउनुभयो । अध्यक्षसमेत सचिवको प्रभावमा पर्नुभयो । चारजना सञ्चालकले राजीनामा बुझाउँदा, हामी कर्मचारीहरूले सामूहिक राजीनामा दिने जानकारी गराउँदा पनि अध्यक्षले कारबाहीको लागि निर्णायक भूमिका खेल्नुभएन,’ एक कर्मचारीले प्रश्न गरिन्, ‘यस्तो अयोग्य, असक्षम र आर्थिक अनियमितता गरेको व्यवस्थापकलाई राखेर सहकारी संस्थाले कसरी प्रगति गर्छ होला ?’
आर्थिक अपचलनको विवाद निरुपण नगरी सहकारी संस्थाको मंगलबार २६औं वार्षिक साधारणसभा आयोजना हुँदैछ ।
केही बचतकर्ताले व्यवस्थापकलाई कारबाही गरे आफूहरूका बदमासी पनि सार्वजनिक हुन सक्ने भएका कारण व्यवस्थापकमाथि कारबाही नभएको आरोप लगाएका छन् ।
आगामी चार वर्षका लागि संस्थाको पदाधिकारी र सञ्चालकको निर्वाचनसमेत गर्ने साधारणसभालाई आफूअनुकुल बनाउन सहकारीभित्र भएको भ्रष्टाचारलाई छोपछाप पारिएको केही सेयर सदस्यले बताएका छन् ।












