राष्ट्र बैंकले बुधबार २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन गर्दै

३० पुष २०८२, बुधबार ११:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) पुनः ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले एक वर्ष अवधिका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’’ उपकरणमार्फत ऋणपत्र निष्कासन गरिनेछ। उक्त ऋणपत्रका लागि बोलकबोल प्रक्रिया आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ।

ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण गरिनेछ। यस ऋणपत्रको सावाँ रकम २०८३ पुस ३० गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।

स्वीकृत बोल रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा गणना गरिनेछ। तर, उक्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। यद्यपि, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपातमा भने सो रकम गणना गर्न सकिने जनाइएको छ।

ऋणपत्रको परिपक्व मितिभन्दा अघि लगानीकर्ताले यसबापतको रकम फिर्ता पाउने व्यवस्था छैन। राष्ट्र बैंकले पुस १४ गतेदेखि आजसम्म गरी कुल नौ पटक ऋणपत्र निष्कासन गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*