५ महिनामा वाणिज्य बैंकको नाफा २५ अर्ब ७२ करोड, ग्लोबल र नबिलको प्रतिस्पर्धा, प्राइमलाई पछ्याउँदै एभरेष्ट

३० पुष २०८२, बुधबार १२:१८

काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकले साढे २५ अर्बभन्दा बढी मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले २५ अर्ब ७२ करोड ७ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले पछिल्लो ५ महिनामा ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको हो ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको नबिल बैंकले ३ अर्ब ११ करोड ७७ लाख, तेस्रो नम्बरमा रहेको प्राइम बैंकले १ अर्ब ९२ करोड ५९ लाख, चौथो नम्बरमा रहेको एभरेष्ट बैंकले १ अर्ब ८९ करोड ६८ लाख, पाँचौ नम्बरमा रहेको एनएमबि बैंकले १ अर्ब ६५ करोड ५७ लाख र छैटो नम्बरमा रहेको कुमारी बैंकले १ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेका छन् ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २३ करोड, प्रभु बैंकले १ अर्ब १६ करोड, स्टान्र्डड चार्टड बैंकले १ अर्ब १६ करोड, हिमालयन बैंकले १ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९ करोड, सानिमा बैंकले १ अर्ब ६ करोड, सिद्धार्थ बैंकले १ अर्ब, लक्ष्मी सनराइज बैंकले ९२ करोड ६६ लाख, नेपाल एसबिआई बैंकले ९० करोड ४७ लाख, माछापुच्छ्रे बैंकले ८४ करोड, एनआईसी एशियाले ५९ करोड, नेपाल बैंक ५९ करोड, कृषि विकास बैंक ४१ करोड र सिटिजन्स बैंकले २४ करोड ३७ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

गत आवको तुलनामा भने नाफामा भारी गिरावट

पछिल्लो समय बैंकको खराब कर्जाको ग्राफ बढ्दै गएको छ । देशमा चलि रहेको आन्दोलन र आर्थिक मन्दिका बीच बैैंकहरुको खराब कर्जा बढ्दा त्यसको प्रभाव बैंकहरुको नाफामा पर्ने गएको देखिन्छ । बैंकिङ क्षेत्रमा भइरहेको आक्रमणले समेत खराब कर्जा उठ्नै सकस परेको अवस्था छ । सोहि कारण गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा घटेको हो ।

गत आर्थिक वर्ष २०८१।०८२ को पाँच महिनामा वाणिज्य बैंकले ३० अर्ब ९४ करोठ ५६ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिकको सोहि अवधिमा २५ अर्ब ७२ करोडमा सीमित भएको हो । जुन गत आर्थिक वर्षको तुलनामा १६.८८ प्रतिशतले कम हो ।

यसअवधिमा १४ बैंकको नाफा घटेको छ भने ६ बैंकको मात्रै सुधार आएको छ । सर्वाधिक सिटिजन्स बैंकको नाफामा भारी गिरावट आएको देखिएको छ । बैंकको नाफा ६४.९२ प्रतिशतले घटेको छ ।

साथै, नेपाल बैंकको ६१.०५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५०.५३ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ४३.५२ प्रतिशतले नाफा घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*