सहकारी बाहेक रविविरुद्धका अन्य मुद्दा फिर्ता लिन गृहकार्य शुरू

३० पुष २०८२, बुधबार १२:२८

काठमाडौं । सरकारले सहकारी बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि रहेका अन्य मुद्दाहरु फिर्ता लिन गृहकार्य शुरू गरेको छ ।
लामिछानेमाथि सहकारी बाहेक सम्पति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा विचाराधीन छन् ।

आगामी प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारी दिनुभन्दा पहिल्यै लामिछानेमाथिका सम्पति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन सरकारले महान्यायधिवक्ताको कार्यालयलाई पत्राचार गरेको बताइँदै छ । महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले भने निर्णयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट आएको फाइल वा पत्राचारबारे अहिल्यै थाहा नहुने बताएका छन् ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि भन्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिइसकेका छन् । रविले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिइदिन भनी आग्रह गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा रविले जुनसुकै हालतमा चुनाव गर्न र आफुलाई रोक्न यसअघिको सरकारले गरेका अवरोधहरु खोलिदिन भनी आग्रह गरेका थिए । आफूमाथि राजनीतिक पूर्वाग्रहबाट लगाइएका मुद्दा फिर्ता हुनुपर्ने माग राखेर थुनामुक्त नहुँदै पनि रविले महान्याधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए । प्रधानमन्त्री सुशीला कार्कीसँगको परामर्शपछि उम्मेदवारी दर्ता पहिल्यै मुद्दा फिर्ताको प्रक्रियाका लागि लामिछानेले पूरक निवेदन दिएका हुन् ।

सहकारी ठगिको मुद्दामा काराकार चलान भएका लामिछाने धरौटी र बैंक जमानतमा थुनामुक्त भएर आएपछि पार्टी नेतृत्वमा सक्रिय भएका छन् । सहकारी ठगीको अभियोग कायमै भए पनि सांसद निर्वाचित हुँदा पद कायमै हुने देखेर लामिछानेले वर्तमान सरकारसँग लबिङ् गरेका हुन् ।

सम्पति शुद्धीकरण र संगठित अपराधको मुद्दाले उनलाई उम्मेदवारी दिन अवरोध नगरेका खण्डमा पनि सांसद पद नरहने भएपछि ती अभियोग हटाउन उनले हदैसम्मको पहल गरिरहेको बताइँदै छ । यद्यपि, निर्वाचन आयोगले हालै जारी गरेको स्वघोषणामा उम्मेदवारले सम्पति शुद्धीकरण, भ्रष्टाचार, सहकारी ठगिको अभियोग नभएको स्वघोषणा गर्नु पर्ने भनी उल्लेख छ ।

रविविरुद्धका फौजदारी अभियोग फिर्ता हुनासाथ काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र साह (बालेन)ले पनि पदबाट राजीनामा दिने तयारी गरेका छन् । रविविरुद्धका अभियोग फिर्ता नभए पनि सम्भवतः उनले माघ ४ गते राजीनामा दिने र त्यसको भोलिपल्ट माघ ५ गते जनकपुर जाने कार्यक्रम तय गरेका छन् । जसमा रास्वपा सभापति रवि लामिछाने समेत जनकपुर गएर बालेनलाई पहिलो पटक पार्टीको औपचारिक कार्यक्रममा सरिक गराउने कार्यक्रम तय भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*