एचजीएनद्वारा विदेशी पर्यटकलक्षित नेपालकै पहिलो यन्त्र–आधारित बीमा सेवा शुरू

काठमाडौं । नेपाल विश्वभर साहसिक पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा परिचित रहँदै आएको छ। सगरमाथा क्षेत्र, हिमाली पदयात्रा, पर्वतारोहण तथा विभिन्न साहसिक गतिविधिहरू लामो समयसम्म सुरक्षित मानिनुमा शेर्पा समुदायको अद्वितीय अनुभव र नेपाली गाइडहरूको व्यावसायिक योगदान महत्वपूर्ण रहँदै आएको छ।
तर पछिल्लो दशकमा हेलिकप्टर सेवाको तीव्र विस्तारसँगै बीमा ठगीसम्बन्धी समस्या, हेलिकप्टर कम्पनीहरूले उद्धार खर्च बढाउने, अस्पतालहरूले अनावश्यक परीक्षणमार्फत उपचार खर्च बढाउने तथा ट्रेकिङ कम्पनीहरू समेत गलत समन्वयमा संलग्न भएको घटनाहरू बढ्दै गएपछि नेपालको पर्यटन छविमा नकारात्मक असर परिरहेको छ।
नेपालले यी समस्या तत्काल नियन्त्रण गर्न नसक्नुको मुख्य कारण बीमा दाबी प्रक्रिया नै नेपाल बाहिर केन्द्रित हुनु, अधिकांश बीमा दाबीहरू सिधै विदेशी बीमा कम्पनीमा दर्ता हुनु र भुक्तानी पनि विदेशी कम्पनीबाट हेलिकप्टर तथा अस्पताललाई नै गरिनु आदि छन्। यस प्रक्रियामा नेपाल सरकार, नेपाल बीमा प्राधिकरण वा अन्य नियामक निकायको पहुँच नहुँदा डेटा, बिल र जाँच गर्ने अधिकार सीमित रह्यो जसकारण ठगी पहिचान र नियन्त्रण गर्न कठिन बन्दै गएको छ।
बीमा ठगी बढ्दै गएपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरे पनि अपेक्षित अनुशासनात्मक कारबाही हुन नसकेको र प्रतिवेदन सार्वजनिक नभएको गुनासो रहँदै आएको छ। यस्ता अनियन्त्रित गतिविधिका कारण नेपालका लागि बीमा शुल्क उच्च हुँदा पर्यटकहरूको यात्रा खर्च बढ्न गई नेपाल महँगो तथा जोखिमपूर्ण गन्तव्यका रूपमा चिनिन थाल्यो।
यही समस्याको स्थायी समाधान र नेपालको बिग्रँदो अन्तर्राष्ट्रिय छवि सुधार गर्ने उद्देश्यसहित हिमालयन गार्जियन नेपाल (एचजीएन) ले नेपाल बीमा प्राधिकरणको सहकार्यमा तथा नेपाल दूरसञ्चार प्राधिकरणको औपचारिक स्वीकृति सहित विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–समर्थित बीमा प्रणाली शुरु गरेको घोषणा गरेको छ। यस प्रणालीअन्तर्गत बीमाको अन्डरराइटर सरकारबाट स्वीकृत नेपाली बीमा कम्पनी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ।
यो नयाँ प्रणालीमार्फत हेलिकप्टर उद्धार बिलमा ठगी गर्न नसकिने व्यवस्था, अनावश्यक चिकित्सकीय परीक्षण नियन्त्रणमा र बीमा दाबी वास्तविक जीपीएस डेटा र यात्रु अवस्थाको आधारमा मात्र स्वीकृत हुने व्यवस्था मिलाइएको दाबी गरिएको छ।
एचजीएनले हाल विदेशी पर्यटकहरूको आवश्यकताअनुसार विभिन्न बीमा प्याकेजहरू उपलब्ध गराएको छ। ३ हजार ५०० मिटरसम्मका लागि टुर बीमा प्याकेज, ५ हजार ५०० मिटरसम्मका लागि ट्रेकिङ बीमा प्याकेज र ६ हजार मिटरसम्मका लागि क्लाइम्बिङ बीमा प्याकेज सञ्चालनमा छन्। यी प्याकेजहरूमा चिकित्सकीय उपचार, दुर्घटना बीमा, उचाइसम्बन्धी उपचार, हेलिकप्टर उद्धार, रियल–टाइम ट्र्याकिङ र आपतकालीन सेवा समावेश गरिएको छ। आगामी दिनहरूमा थप नयाँ प्याकेजहरू पनि ल्याइने जनाइएको छ।
एचजीएन नेपालमा साहसिक पर्यटनका लागि स्थापित पहिलो समग्र सुरक्षा इकोसिस्टम हो। एचजीएनमार्फत परिकल्पना गरिएको कम्प्रिहेन्सिभ टुरिजम गार्ड प्रणालीले बीमा, जीपीएस ट्र्याकिङ, स्याटेलाइट सञ्चार र चौबीसै घण्टा उद्धार सेवालाई एउटै संरचनामा एकीकृत गरेको छ। यसका लागि एचजीएनले आफ्नै प्रविधि प्लेटफर्म विकास गरेको छ जसको चौबीसै घण्टा दक्ष अपरेटरहरूले निगरानी गर्ने व्यवस्था गरिएको जनाएको छ।
एचजीएनको मुख्य उद्देश्य नेपाल तथा हिमाली साहसिक यात्रालाई सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय रूपमा विश्वासयोग्य बनाउनु भएको बताएको छ। यस पहलमा आईजीआई प्रुडेन्सियलसँगै लोयड्स अफ लण्डन, एभरेष्ट री र हानोभर री जस्ता अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूको सहकार्य रहेको छ। बीमा नीतिमार्फत दुर्घटना, उचाइसम्बन्धी रोग, आपतकालीन उद्धार तथा आकस्मिक अवस्थाबाट यात्रुहरूको सुरक्षा सुनिश्चित गरिने बताएको छ।
साहसिक यात्रामा समस्या परे उद्धार र उपचारमा ठूलो खर्च लाग्ने भएकाले यात्रुहरू आर्थिक रूपमा दबाबमा पर्ने गरेका छन्। यही समस्याको समाधानका रूपमा एचजीएनले सुलभ शुल्कमा बीमा प्याकेज उपलब्ध गराएको जनाएको छ जसको शुल्क १६ अमेरिकी डलरदेखि व्यावसायिक पर्वतारोहणका लागि ५०० अमेरिकी डलरसम्म रहेको छ। प्याकेज अवधि न्यूनतम ७ दिनदेखि अधिकतम ६० दिनसम्म रहेको छ।
एचजीएनका अनुसार यो सेवा जीपीएस ट्रेसर उपकरणमार्फत सञ्चालन हुन्छ। यस उपकरणले वास्तविक समयमा ट्र्याकिङ र एसओएस सन्देश पठाउने सुविधा दिन्छ। चौबीसै घण्टा सञ्चालन हुने कल सेन्टरले यात्रुहरूको निगरानी गर्दै आपतकालीन अवस्थामा उद्धार टोली परिचालनको समन्वय गर्छ। बीमा कभरेजमा चिकित्सकीय उपचार, उद्धार खर्च, आकस्मिक मृत्यु वा अपाङ्गता तथा यात्रु वा शव स्वदेश फिर्ता पठाउने सुविधा समावेश छ।
एचजीएनले चिकित्सकीय सेवाका लागि विभिन्न अस्पतालहरूसँग उद्धारका लागि अल्पाइन रेस्क्युजस्ता संस्थासँग तथा पर्यटन क्षेत्रका संघ–संस्थासँग सहकार्य गर्दै आएको छ। नेपाल बीमा प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त यो प्रणालीले अनधिकृत उद्धार, ढिलो प्रतिक्रिया र कमजोर चिकित्सकीय समन्वयका समस्यालाई अन्त्य गर्ने विश्वास व्यक्त गरिएको छ।












