बजारमा झिनो सुधारः लगानीकर्ता शेयर बिक्री तिर हाबि, यस्तो हुनेछ अबको लय

काठमाडौँ । शेयर बजारमा आज दिनभर देखिएको उतार–चढावपछि सामान्य सुधार आएको छ । प्रमुख शेयर सूचकांकहरूमा हल्का वृद्धि देखिनुले बजारमा सकारात्मक भावनाको संकेत दिएको छ । बजारमा आएको उतार चढाबपछि लगानीकर्ताहरूले आगामी दिनमा बजार अझ मजबुत आधारमा अघि बढ्ने अपेक्षा गरेका छन्।
देशको राजनीतिक परिस्थितिले पनि बजारलाई सहज बनाएको विश्लेषकहरूले बताएका छन्। हाल जेनजी आन्दोलनपछि निर्वाचन प्रक्रियातर्फको गति बढिरहेको छ भने नयाँ नेतृत्व चयनको सम्भावनाले लगानीकर्तामा उत्साहको भावना सिर्जना गरेको छ। सक्रिय लगानीकर्ताको संख्या करिब ६२ हजार पुगेको छ।
नियामक निकायहरूले समेत बजार सुधारमा सक्रिय भूमिका खेलेका छन्। नेपाल राष्ट्र बैंकले तरलता बढाउने विभिन्न पहलहरू अघि सारेको छ भने अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डले लगानीकर्ता–मैत्री नीतिहरू लागू गर्दै बजारमा सुधारको वातावरण निर्माण गरिरहेका छन्। यसले लगानीकर्तामा विश्वास बढाएको विश्लेषकहरूले बताएका छन्।
विश्लेषकहरूको भनाइ अनुसार निर्वाचन प्रक्रियाले अल्पकालीन रूपमा केही असर पार्न सक्छ। नयाँ नेतृत्वको अन्योलका कारण केही लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाउन सक्छन् भने दीर्घकालीन दृष्टिले राजनीतिक स्थायित्व र स्पष्ट नीतिहरूले बजारलाई सकारात्मक दिशामा अघि बढाउने विश्वास कायम रहेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५२ अकंले बढेर २६४१.४३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ५ उपसूचक घटेको छ भने ८ उपसूचकमा सुधार देखिएको हो । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थि रहेको हो ।













