देउवा पक्षले गरेको कारबाहीलाई ‘प्राइभेट कम्पनीको निर्णय’ भन्दै गगन थापाले गरे प्रतिवाद

३० पुष २०८२, बुधबार २२:०४

काठमाडौं । नेपाली कांग्रेसको कारबाही गरेको समाचार बाहिरिए लगत्तै महामन्त्री गगन थापाले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेर त्यसको कडा प्रतिवाद गरेका छन् ।

विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले गरेको कारबाहीलाई ‘प्राइभेट कम्पनीको निर्णय’ भन्दै सिधै खारेज गरिदिएका हुन्।

उनले २४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर र उपस्थितिले नै विशेष महाधिवेशनको वैधानिकता पुष्टि गरेको भन्दै अब सानेपामा बसेर देउवा पक्षले गर्ने कुनै पनि निर्णयको अर्थ नरहने जिकिर गरे ।

सम्बोधनका क्रममा निकै आक्रामक देखिएका थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले अन्तिम समयसम्म पनि पार्टी एकताका लागि संवाद गरिरहँदा देउवा पक्षले भने षड्यन्त्रपूर्वक अलमल्याउने रणनीति अपनाएको दाबी गरे।

आफूहरूले वार्ता र सहमतिको प्रयास गरिरहँदा उता देउवा पक्षका मानिसहरू निर्वाचन आयोगमा गएर छापामार शैलीमा निर्णय दर्ता गराएको र कारबाहीको नाटक रचेको उनको आरोप थियो।

पछिल्लो समय आफूहरूले ४० प्रतिशत भागबन्डा वा प्रधानमन्त्रीको पद मागेको भन्ने संस्थापन पक्षको आरोपलाई उनले वाहियात भन्दै खण्डन गरे । आज बिहान मात्रै सभापति देउवाको निवासमा गएर आफूहरूले ‘तपाईं अभिभावक र संरक्षक बनिदिनुस्, तर कार्यकारी भूमिका छोडिदिनुस्’ भनेर दुई हात जोडेर बिन्ती गरेको तर देउवा पक्षले त्यसलाई कमजोरी ठानेको उनले बताए।

भदौ २३ र २४ गते सडकमा ओर्लिएका नौजवानहरूको आक्रोशलाई सम्बोधन गर्न र आगामी निर्वाचनमा कांग्रेसको साख जोगाउन नेतृत्व परिवर्तन अनिवार्य भएको उनको तर्क थियो । उनले कांग्रेसले अबको निर्वाचनमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार होइन भनेर जानुपर्ने बाध्यता रहेको सुनाए ।

विशेष महाधिवेशनको वैधानिकतामाथि उठेको प्रश्नको जवाफ दिँदै थापाले अब शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भङ्ग भइसकेको घोषणा गरे । विशेष महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले अब यही महाधिवेशनले चयन गर्ने नयाँ कार्यसमिति नै आधिकारिक हुने उनको दाबी थियो।

उनले निर्वाचन आयोग, देशको संविधान र कानुनप्रति आफूहरूको पूर्ण भरोसा रहेको बताउँदै बहुमत प्रतिनिधिले गरेको निर्णयलाई राज्यका निकायले स्वीकार गर्ने विश्वास व्यक्त गरे । आफूहरूलाई पदको लोभ नभएको भन्दै उनले विशेष महाधिवेशनबाट अन्तरिम नेतृत्व वा सामूहिक नेतृत्व जस्तो विकल्पमा जान पनि आफूहरू तयार रहेको स्पष्ट पारे।

कार्यकर्ता र शुभेच्छुकहरूमा पार्टी फुट्ने चिन्ता छाएको सन्दर्भमा बोल्दै उनले कांग्रेस नफुटेको बरु रूपान्तरणको बाटोमा लागेको दाबी गरे। रुख चिह्न र झन्डा कसैको पेवा नभएको भन्दै उनले जहाँ कांग्रेसको आत्मा, विचार र बहुमत प्रतिनिधि छन्, त्यहीँ आधिकारिक कांग्रेस हुने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*