नेपाली समुदायमा निकै रुचाएको सावधिक जीवन बीमालेखमा कुन कम्पनीको बोनसदर कति ?

काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये १३ वटा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८१–०८२ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक अन्यले सो बोनशदर सार्वजनिक गरेका छन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार जारी गरेका बीमा पोलिसीहरुमा लागु हुनेछ र सोही अनुसार बीमितहरुले पाउने छन् । सावधिक जीवन बीमा पोलिसी नेपाली समुदायमा निकै रुचाएको बीमालेख हो ।
कम्पनीहरुले घोषणा गरेको बोनशदर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनश दर कायम हुने जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवन उदय एकल बीमालेखहरूमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले सावधिक बीमा योजना अन्तर्गतका बच्चाको शिक्षा एवं विवाह बीमा योजना, सामूहिक सावधिक अमृत बीमा योजना, भविष्य वृत्ति बीमा योजना, दम्पति अमृत सावधिक बीमा योजना, एकल सावधिक अमृत बीमा योजना, बचत अमृत सावधिक बीमा योजना, सावधिक अमृत बीमा योजना, सन्जीवनी अमृत सावधिक बीमा योजना, एकल सन्जीवनी सावधिक बीमा योजना र जीवन श्री सावधिक आजीवन बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिइने भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँसम्म बोनस दिने भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख), सिटिजन बालप भविष्य योजना प्लस (सावधिक बीमलेख) मा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म र सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीव्न बीमालेख) मा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिनेछ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा बीमा अवधि (वर्ष) अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस (प्रति हजार) तोकेको छ। त्यसैगरी सामूहिक सावधिक बीमा योजनामा ३२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमा योजनामा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
मेट लाइफ नेपालले सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनश निर्धारण गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले सनलाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बोनश निर्धारण गरेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रति हजारका दरले बोनस दिने भएको छ । यता सावधिक जीवन बीमा योजना (एकल) मा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
त्यसैगरी त्रिपल सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म, दम्पत्ति सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सावधिक बीमालेख अन्तर्गतका ८ वटा बीमा योजनाहरूमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ भने सावधिक तथा आजीवन बीमालेख अन्तर्गतको बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनस दिने भएको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सावधिक बीमा योजना अन्तर्गतका सम्वृद्ध जीवन बीमा–एकल, सम्वृद्ध जीवन बीमा–नियमति, बम्पर श्रीवृद्धि जीवन बीमा, सुनौलो किरण बीमा र बाल जीवन किरण बीमामा बीमा अवधि अनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।
त्यसैगरी सावधिक तथा आजीवन बीमा योजना अन्तर्गतको अमूल्य जीवन बीमामा ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजना अन्तर्गतका वैभव जीवन बीमा, जीवन उन्नति–एकल र जीवन उन्नति–नियमितमा ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनस कम्पनीले बीमितलाई दिने भएको छ।
एशियन लाइफ इन्स्योरेन्सले सावधकि तथा आजीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिइने भएको छ । त्यस्तै सावधिक जीवन बीमालेखमा ४५ रुपैयाँदेखि ६२ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ।
यता बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म तथा सामूहिक सावधिक, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ र भविष्य निधिमा ४४ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनसदर कायम भएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सले सावधिक बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दिइने भएको छ । त्यस्तै सावधिक तथा आजीवन बीमा योजनामा ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिकमा ५७ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी) मा ५२ रुपैयाँ बोनस दिइने भएको छ ।
एलआइसी नेपालले सावधिक बीमा योजनामा ४९ रुपैयाँदेखि ६५ रुपैयाँसम्म, बाल सावधिकमा ५० रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ । कम्पनीले लघु सावधिकका सबै बीमा अवधिमा समान ४१ रुपैयाँ प्रतिहजारका दरले बोनश दिने भएको छ ।












