सुपरमाई हाइड्रोपावरको ४८ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको ४८ लाख २५ हजार ७०० कित्ता शेयरको लकइन अवधि फागुन ४ गतेबाट समाप्त हुने भएको छ।
कम्पनीले वि.सं. २०७९ मंसिर २१ गतेदेखि पुस १३ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी फागनु ५ गते बाँडफाँड गरेको थियो।
सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक शेयरधनीतर्फको, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको र कम्पनीमा कार्यरत कर्मचारीतर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ।
यसरी लकइनमा राखिएको संस्थापकतर्फको ४२ लाख ८० हजार कित्ता, आयोजना प्रभाविततर्फको ५ लाख ३५ हजार कित्ता र कम्पनीका कर्मचारीतर्फको १० हजार ७०० कित्ता गरी कुल ४८ लाख २५ हजार ७०० कित्ता शेयरको लकइन अवधि आउँदो फागुन ४ गते समाप्त हुने भएको हो।
लकइनमा रहुन्जेल शेयर किनबेच गर्न पाइँदैन भने लकइन अवधि सकिएसँगै उक्त शेयरहरू किनबेच गर्न सकिनेछ। तर कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन तहमा रहेका कर्मचारीले भने नियमानुसार खरीद–बिक्री गर्न नपाउने कम्पनीले स्पष्ट पारेको छ।












