काठमाडौं महानगरको मेयरबाट राजीनामा दिने तयारीमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख एवं मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनको सचिवालयका अनुसार ४ माघसम्म पदबाट राजीनामा दिएर बालेन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नियमित चुनावी कार्यक्रममा सहभागी हुने र आफुले रोजेको झापा -५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
स्वकीय सचिव भूपदेव शाहले माघ ६ गते झापा-५ बाट उम्मेदवारी दर्ता गर्ने तयारी भइरहेको र चुनावी अभियानका लागि बस्ने ठाउँ र सम्पर्क कार्यालय भाडामा लिइसकिएको बताए ।
बालेन निकट सहयोगीहरुले चुनावी प्रचारका लागि झापामा तीन वटा घर भाडामा लिएका बताइएको छ । ४ माघमा राजीनामा दिएर ५ माघमा जनकपुरको आम सभामा सहभागी हुने तय भइसकेको अवस्थामा बालेनले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको भनी डिजिटल प्रचार थालिसकेका छन् ।
तीन वर्षअघि भएको संसदीय निर्वाचनमा झापा-५ बाट एमाले अध्यक्ष ओलीले देशभरमै सर्वाधिक मत ल्याएका थिए । उनी ५२ हजार ३ सय १९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याए । २८ हजार ५ सय ७६ मतान्तरले जितेका ओलीसँग आसन्न प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्न काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन चर्चाले झापाको वातावरण गर्माएको छ ।
झापा-५ लाई आफ्नो सर्वाधिक बलियो गढ मान्ने एमाले थप तयारी गर्न नपाउँदै बालेनका लागि रास्वपाले अनेक टोली खटाइसकेको छ । बालेनका सहायक स्वकीय सचिव नवीन भण्डारीसहितको टोली झापा-५ मा छ । चुनावी अभियानका लागि दमक-३ मा घर भाडामा लिने काम भइसकेको बताइएको छ ।












