आवासीय घर कर्जामा उत्साह आउदा मन्दीमा रियल इस्टेट क्षेत्र, कुन बैंकले कति दिए ऋण ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यक्तिगत घर निर्माण गर्ने गर्नेहरूको संख्या बढ्दै गए पनि व्यावसायिक रियल इस्टेट क्षेत्रमा भने निराशाजनक अवस्था देखिएको छ । पछिल्लो समय आवासीय घर कर्जाको माग उल्लेख्य रूपमा बढेको छ भने अफिस भवन, शपिङ मल, होटल, अपार्टमेन्ट तथा औद्योगिक परिसर निर्माणका लागि दिइने कमर्सियल रियल इस्टेट कर्जाको माग निरन्तर घट्दो क्रममा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङमा उल्लेख गरेको हो ।
चालु आर्थिक वर्षको भदौ महिनामा देशका विभिन्न स्थानमा भएको आन्दोलनका कारण निजी क्षेत्रका व्यापारिक संरचनामा अर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको थियो । उक्त घटनाले निजी क्षेत्र, विशेषगरी रियल इस्टेट तथा निर्माण व्यवसायीहरूको मनोबलमा गहिरो असर पारेको छ । आन्दोलनका क्रममा व्यापारिक भवन, गोदाम, सवारीसाधन तथा अन्य संरचनामा भएको तोडफोड र आगजनीले व्यवसायीहरूलाई नयाँ लगानी गर्न हिच्किचाउने अवस्थामा पु-याएको छ ।
व्यावसायिक रियल इस्टेट कर्जामा गिरावट आउनुका पछाडि केवल आन्दोलन मात्र नभई देशमा विद्यमान राजनीतिक अस्थिरता पनि प्रमुख कारण बनेको छ । सरकार परिवर्तनको आशंका, नीतिगत स्पष्टताको अभाव र दीर्घकालीन आर्थिक दिशाबारे अन्योलका कारण व्यवसायीहरू ठूलो लगानी गर्न डराइरहेका छन् । विशेषगरी अफिस भवन, शपिङ मल, होटल र अपार्टमेन्ट कम्प्लेक्सजस्ता परियोजनामा करोडौँ रुपैयाँको लगानी आवश्यक पर्ने भएकाले जोखिम बढेको व्यवसायीहरूको बुझाइ छ ।
यता, व्यक्तिगत आवासीय क्षेत्र भने चलायमान देखिएको छ । पछिल्लो समय निरन्तर ओरालो लागेको ब्याजदरलाई धेरैले घर निर्माणका लागि उपयुक्त अवसरका रूपमा लिएका छन् । केही समयअघि दोहोरो अंकमा पुगेको कर्जाको ब्याजदर हाल एकल अंक नजिक झरेपछि घर बनाउने योजना बनाएका व्यक्तिहरू बैंक धाउन थालेका हुन् । बैंकहरू पनि आवासीय कर्जामा केही लचिलो नीति अपनाइरहेका छन्, जसले माग बढाउन थप सहयोग पुगेको छ ।
व्यक्तिगत आवासीय घर कर्जा
नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म आइपुग्दा वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जामा ३ खर्ब ४४ अर्ब ८३ करोड ७९ लाख रुपैयाँ प्रवाह गरेका छन्। यो रकम गत वर्षको सोही अवधिको तुलनामा ७.८२ प्रतिशतले बढी हो । गत आवको मंसिर मसान्तसम्ममा यो रकम ३ खर्ब १९ अर्ब ८१ करोड रुपैयाँ मात्र थियो ।
हाल ३ करोड रुपैयाँसम्मको घर कर्जालाई व्यक्तिगत आवासीय कर्जाको रूपमा गणना गरिन्छ । ३ करोड रुपैयाँभन्दा माथिको घर कर्जा भने रियल इस्टेट कर्जामा वर्गीकृत गरिन्छ । पछिल्लो समय ३ करोड रुपैयाँसम्मको आवासीय कर्जामा उल्लेख्य वृद्धि भएको पाइन्छ । समिक्षा अवधिमा ४ बैंकले मात्रै ब्यक्तिगत आवासीय कर्जा घटाएका छन् भने १६ वटाले बढाएको देखिन्छ ।
यसअवधिमा सर्वाधिक आवासीय कर्जा प्रभाव गर्नेमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा रहेको छ । मंसिर मसान्तसम्म आइपुग्दा बैंकले ४४ अर्ब ६२ करोड ६९ लाख रुपैयाँ कर्जा दिएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१.६८ प्रतिशतले बढी हो ।

त्यस्तै, एनआईसी एशिया बैंकको आवासीय कर्जा २० प्रतिशतले घटेर ४३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । साथै, राष्ट्रिय वाणिज्य बैंकको उक्त कर्जा २१.४७ प्रतिशतले बढेर ३२ अर्ब १८ करोड, नबिल बैंकको ११.५८ प्रतिशतले बढेर २९ अर्ब ९९ करोड, एभरेष्ट बैंकको ११.९५ प्रतिशतले बढेर २५ अर्ब ४३ करोड, एनएमबि बैंकको २७.८२ प्रतिशतले बढेर २० अर्ब ७८ करोड, लक्ष्मी सनराइज बैंकको ५ प्रतिशतले बढेर १९ अर्ब २९ करोड र सिद्धार्थ बैंकको ३० प्रतिशतले बढेर १६ अर्ब ८५ करोड रुपैयाँ प्रवाह गरेको छ ।
रियल इस्टेट कर्जा
रियल इस्टेट कर्जाको माग भने घट्दो क्रममा रहेको छ । राष्ट्र बैङ्कको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा यस्तो कर्जा २ खर्ब २४ अर्ब ८४ करोड ६७ लाख रुपैयाँ प्रवाह भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३.९४ प्रतिशतले कम हो । गत वर्षको मंसि मसान्तसम्म रियल इस्टेट कर्जाको प्रवाह २ खर्ब ३४ अर्ब ५ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा १२ वाणिज्य बैंकले रियल इस्टेट कर्जा घटेको छ भने ८ वटा मात्र झिनो बढेको देखिएको हो ।

रियल इस्टेट कर्जा सर्वाधिक प्रभाव गर्नेमा पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अघि रहेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा आइपुग्दा बैंकले २३ अर्ब ७७ करोड रुपैयाँ रियल इस्टेट कर्जा प्रभाव गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.२२ प्रतिशतले कम हो ।
साथै, नबिल बैकको रियल इस्टेट कर्जा ३.१४ प्रतिशतले घटेर २३ अर्ब ३० करोड, प्राइमको १४.३८ प्रतिशतले बढेर २३ अर्ब १० करोड, एनआईसी एशिया बैंकको १६.३० प्रतिशतले घटेर २२ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।












