६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, प्रविधि र कृषिमूलक उद्योगमा बढी आकर्षण

२ माघ २०८२, शुक्रबार १४:२२

काठमाडौँ ।  चालु आर्थिक वर्षको पछिल्लो महीनाहरुमा नेपालमा वैदेशिक लगानी प्रतिवद्धतामा उल्लेखनीय वृद्धि भएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको छ। यो गत आवको सोही अवधिको तुलनामा निकै बढी हो, जब ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको थियो।

गत आवको पहिलो ६ महिनामा ३४५ साना, ५ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिवद्धता आएको थियो भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७ ठूला, ८ मध्यम र ४६० साना उद्योगले प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता पाएका छन्। विभागका अनुसार गत पुस महिनामा मात्रै ३६ वटा साना उद्योगमा लगानी प्रतिवद्धता आएको थियो, जसबाट करिब २० हजार १२२ रोजगारी सृजना हुने अनुमान गरिएको छ।

वास्तविक रूपमा चालु आर्थिक वर्षका पछिल्ला महिनामा उद्योग क्षेत्रमा लगानी प्रतिवद्धतामा तीव्र वृद्धि देखिएको छ। साउन महिनामा मात्र ५९ करोड ७५ लाख ६० हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता भएको थियो भने भदौमा यो आकंड़ा ३३ अर्ब ९ करोड २० लाखमा पुगेको थियो। असोजमा २ अर्ब ४ करोड ५७ लाख, कात्तिकमा १ अर्ब ५४ करोड ३९ लाख र मङ्सिरमा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो।

तथ्यांक अनुसार सूचना प्रविधि क्षेत्रमै सबैभन्दा धेरै लगानी प्रतिवद्धता आएको छ। साउनदेखि पुस महिनासम्म भित्रिएका २५७ वटा सूचना प्रविधिमूलक उद्योगका लागि लगानी प्रतिवद्धता भएको छ। रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा ठूलो २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता रहेको छ। उत्पादनमूलक क्षेत्रमा २७ उद्योगका लागि २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १४५ उद्योगका लागि १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ।

उद्योग विभागको तथ्यांक अनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी लगानीकर्ताको संख्या पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षका पहिलो ६ महिनामा १ हजार २२९ लगानीकर्ताले बिजनेस भिसाको सिफारिस मागेका छन्। अघिल्लो वर्षको सोही अवधिमा २ हजार ११७ जनाले सिफारिस मागेका थिए। त्यस्तै, चालु ६ महिनामा १७९ जनाले प्रत्यक्ष भिसा मागेका छन् भने अघिल्लो वर्षको सोही अवधिमा २०१ जनाले भिसा लिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*