कांग्रेस कार्यकर्ताले निर्वाचन आयोगमा दिए धर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शुक्रबार (माघ २) निर्वाचन आयोगमा धर्ना दिएका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वलाई आधिकारिकता दिन माग गर्दै उनीहरूले आयोगमा ध्यानाकर्षण गराएका हुन्।
शुक्रबार दिउँसो कांग्रेसका नेताहरू आयोग अगाडि पलेँटी कसेर धर्नामा बसेका थिए। त्यही दिन बिहान कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए।
निर्वाचन आयोगले संविधान, राजनीतिक दल सम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र विगतका नजिरहरूको आधारमा निर्णय गर्ने जानकारी दिएको छ। गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय समिति आधिकारिक घोषणा गर्न दबाब दिन कार्यकर्ताहरूले आयोगमा धर्ना दिएका हुन्।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अध्यावधिक गर्ने सम्बन्धमा बिहीबार आयोगमा निवेदन पनि दिइएको थियो।












