८ अर्ब ३६ करोडको विमानस्थल काण्डः थुनछेकविरुद्ध अख्तियार पुग्यो सर्वोच्च

२ माघ २०८२, शुक्रबार १७:१६

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। आयोगले विशेष अदालतको आदेश कानुनसम्मत नभएको दाबी गर्दै प्रतिवादीहरूलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दायर गरेको हो।

अख्तियारका अनुसार करिब ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको धरौटी र साधारण तारेखसम्बन्धी आदेश बेरीतको छ। विशेष अदालतले मंसिर २३ गते प्रतिवादी प्रदीप अधिकारीलाई ५ लाख र मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा छोडी पुर्पक्ष गर्ने आदेश दिएको थियो। आयोगले उक्त आदेश त्रुटिपूर्ण रहेको जिकिर गरेको छ।

त्यसैगरी, पुस १६ गते अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय र महेशकुमार बस्नेतलाई साधारण तारेखमा राखेर पुर्पक्ष गर्ने, पुस २४ गते नारायण गिरीलाई तथा पुस २९ गते बाबुराम पौडेललाई साधारण तारेखमा छोड्ने विशेष अदालतका आदेशहरू पनि कानुनअनुसार नभएको अख्तियारको दाबी छ। आयोगले सबै प्रतिवादीलाई थुनामा राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ।

अख्तियारका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिद प्रक्रियामा प्रतिवादीहरू प्रदीप अधिकारी, महेशकुमार बस्नेत, अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र बाबुराम पौडेललगायतको मिलेमतोमा स्वीकृत लागत अनुमान अस्वाभाविक रूपमा बढाइएको थियो। प्रारम्भिक रूपमा करिब १६ करोड ९६ लाख अमेरिकी डलर रहेको लागत अनुमानलाई संशोधन गर्दै ७ करोड ४३ लाख अमेरिकी डलरले बढाई कुल २४ करोड ४० लाख अमेरिकी डलर कायम गरिएको अख्तियारको आरोप छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*