शिखर इन्स्योरेन्स र जुम्लाका स्याउ कृषकबीच सहमति, प्रतिबिरुवा ३५० देखि ४०० रुपैयाँसम्म दिइने

काठमाडौं । जुम्लाका स्याउ कृषक र शिखर इन्स्योरेन्स कम्पनीबीच लामो समयदेखि देखिएको बीमा विवाद समाधान भएको छ। त्रिपक्षीय छलफलपछि तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकाका कृषकले स्याउ बीमाबापतको रकम प्राप्त गर्ने सहमति भएको हो।
बीमा क्षति मूल्यांकनप्रति असन्तुष्टि जनाउँदै किसानले आन्दोलन र धर्ना कार्यक्रम सञ्चालन गर्दै आएका थिए। प्रारम्भमा गरिएको मूल्यांकनमा प्रति बिरुवा न्यून रकम (२४ रुपैयाँ) तोकिएको भन्दै कृषकले आपत्ति जनाएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा पटक–पटक छलफल भए पनि सहमति हुन सकेको थिएन। विवाद चर्किंदै गएपछि किसान र स्थानीय जनप्रतिनिधिसहितको टोली काठमाडौं पुगेको थियो।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पहलमा शिखर इन्स्योरेन्स, बीमा विकास बोर्ड, जल तथा मौसम विज्ञान विभाग र स्थानीय तहका प्रतिनिधिबीच चरणबद्ध वार्ता भएको थियो। माघ २ गते भएको अन्तिम छलफलपछि मौसम मापन केन्द्रको प्रतिवेदनमा देखिएका त्रुटि सच्याई सम्बन्धित क्षेत्रलाई मध्यम खडेरी क्षेत्रका रूपमा मूल्यांकन गर्ने सहमति भएको छ।
सहमति अनुसार तातोपानी गाउँपालिकामा प्रति बिरुवा ४०० रुपैयाँ तथा पातारासी र कनकासुन्दरी गाउँपालिकामा प्रति बिरुवा ३५० रुपैयाँका दरले बीमा रकम निर्धारण गरिएको छ। नेपाल सरकारबाट उपलब्ध हुने अनुदानसमेत जोडेर बीमा दाबी रकम एकमुष्ट रूपमा भुक्तानी गरिने सहमति भएको छ।
बीमा रकम पाउने सुनिश्चित भएपछि शिखर इन्स्योरेन्सको जुम्ला कार्यालयमा लगाइएको तालाबन्दी खोलिने भएको छ। सहमतिपत्रमा हस्ताक्षर भएको मितिदेखि बढीमा १५ दिनभित्र आवश्यक कागजात संकलन गरी चेकमार्फत किसानलाई रकम भुक्तानी गर्ने व्यवस्था मिलाइने भएको छ। साथै मापदण्ड नपुगेको भन्दै अस्वीकार गरिएका बिरुवाका लागि लिइएको प्रिमियम रकम पनि किसानलाई फिर्ता गरिनेछ।
यस सहमतिसँगै आर्थिक वर्ष ०८०/०८१ मा स्याउ बीमा गरेका तातोपानी गाउँपालिकाका करीब ५११ जना किसानका ९७ हजारभन्दा बढी बिरुवाको बीमा दाबी प्रक्रिया अगाडि बढ्ने भएको छ।












