तीन महिनामै सत्ताबाट सडकमा पछारिए देउवा

काठमाडौं । स्वार्थ समूह, व्यापारी र अराजनीतिक व्यक्तिका पछि लाग्दा विद्यार्थी राजनीतिबाट पार्टीको दुई पल्ट कमाण्डर तथा ६ पल्ट मुलुकको प्रधानमन्त्री बनेका शेरबहादुर देउवा अहिले ‘घर न घाट’ भएका छन् ।
भ्रष्टाचार, अनियमितता, परिवारवाद र कुशासनविरुद्ध उठेको जेनजी आन्दोलनले जीवनको उत्तरार्धमा आइपुगेर देउवालाई सबक सिकाएको विश्लेषण हुन थालेको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा दम्पत्तीले नै कुटाई खाँदा समेत स्वार्थ समूहको घेरा तोड्न नसकेका देउवाको निवास जलेको तीन महिना नपुग्दै राजनीतिक हैसियत समेत गुमेको छ । अब उनी कांग्रेसको साधारण सदस्य बराबरको हैसियतमा पुगेका छन् ।
सातौं पटक प्रधानमन्त्री बन्ने जोतिषीय भविष्यवाणी भइरहेका बेला देउवासँग अहिले ‘न घर न पार्टी’, केही पनि छैन । जेनजी आन्दोलनमा देशैभर पार्टी कार्यालय, आफ्नो निवास जल्दा र आफुहरुमाथि हातपात भइसकेपछि पनि चेत नखुलेकै हो, देउवा निकट रहेर काम गरेका एक कांग्रेस चिन्तक भन्छन्, ‘देउवा आफैंले सुझबुझ देखाउनु पर्ने थियो । स्वार्थ समूह र श्रीमती आरजुले जे सुकै भने पनि जस्तो सुकै दबाब दिए पनि आफु मूभ हुनु पर्ने थियो ।’
समयमा महाधिवेशन गराएर पार्टीलाई नयाँ रुपान्तरणमा लैजाने छलफल भइरहेका बेला पार्टी पदाधिकारीभित्रैबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन भइरहँदा पनि देउवा चुप लागेर बस्नुको परिणाम भएको ती चिन्तकले बताए । उनले भने, ‘त्यति बेलै ५४ प्रतिशतले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्दा आफुले नियमित महाधिवेशनका लागि भनेर ६० प्रतिशतको हस्ताक्षर गराएको भए यो विजोग हुने थिएन । स्वार्थ समूहले घुमाए पनि आफुले त्यसलाई चिर्न सक्नु पर्दथ्यो ।’
देउवासँग त्यसपछि पनि नियमिति महाधिवेशन गर्ने अवसर थियो, ती चिन्तक भन्छन्, ‘१३औं महाधिवेशनसम्म मरिमेटेर लागेका विमलेन्द्र निधि, दुई पटक पार्टी नेतृत्वका लागि लोकतान्त्रिक प्रक्रियाको सामना गरेका डा. शेखर कोइराला र गणेशमान पुत्र प्रकाशमान, यी त्रिमूर्तिलाई एक ठाउँ ल्याएर कोइरालाहरुबाट ल्याएको नेपाली कांग्रेस विरासतलाई नै बुझाइदिनु पर्दथ्यो । त्यसो नगर्दा आज हुलमुलमा छिरेकाहरुको हातमा पार्टी पुग्यो ।’
देउवा चुक्नुको अमुक कारण आरजु नै भएको चर्चा हुन थालेको छ । बाहिर भइरहेको चर्चालाई बल पुग्ने गरी ती चिन्तकले भने, ‘आरजु राजनीतिक व्यक्ति होइनन् । उनको आफ्नो विषयमा विज्ञता छ । तर, राजनीतिक थाहा छैन । राजनीति थाहा नभएको व्यक्ति हावी भए पछिको दुर्गति हो यो ।’
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको छ । गगन नेतृत्वको कार्यसमिति सरकारले फागुन २१ का लागि तोकेको निर्वाचन केन्द्रित भएको छ । अझै एक स्टेप अघि बढेर गगन पक्षले विकिपिडियामा समेत नयाँ कार्यसमितिको विवरण अद्यावधिक गराएको छ भने नयाँ डेटावेश निर्माण गरिसकेको छ । देउवा पक्ष भने आफुहरूनै आधिकारिक नेपाली कांग्रेस भएको भन्दै कानूनी उपचारको बाटोमा लागेको छ । कानूनी उपचार रोजे पनि जेनजी आन्दोलनको म्यान्डेटलाई आधार मान्दा देउवा झन् तल पर्ने जोखिम छ ।
देउवासँग अब एउटै मात्र विकल्प भएको बताइँदै छ । उनले जसरी नेपाली कांग्रेसलाई कोइरालाहरूबाट ल्याएका थिए त्यसरी नै विरासतलाई बुझाउनुको विकल्प नभएको चर्चा हुन थालेको हो । कांग्रेस निकटस्थ एक जानकारले भने, ‘अब देउवासँग भएको विकल्प निर्वाचन आयोगमा दर्ता भएको बीपी कांग्रेससँग हात फैलाएर आफु नेतृत्व नलिने शर्तमा कांग्रेसलाई पुनर्जन्म दिने कार्यमा लाग्दा उपयुक्त हुन्छ । त्यस दौरान उनले कोइराला, निधि र गणेशमान पुत्रहरुलाई अघि सारेर विरासतलाई पार्टी हस्तान्तरण गर्नुपर्छ ।’ सत्ताका लागि पार्टीमा प्रवेश गरेका मान्छेहरुको झुण्डलाई छोडेर त्याग र सेवाका लागि पार्टीमा लागेकाहरुलाई देउवाले पार्टी पुनर्जीवित गरेर जिम्मा लगाउनु पर्ने धारणा ती जानकारले राखेका छन् ।












