श्री महेन्द्र शक्ति माविका पूर्व विद्यार्थीद्वारा भाइबहिनीलाई न्यानो कपडा वितरण

४ माघ २०८२, आईतवार १३:४३

काठमाडौं । गोरखा सहिद लखन गाउँपालिका–१, बक्राङ, गोरखा स्थित श्री महेन्द्र शक्ति माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एक विशेष समारोहकाबीच भव्यताका साथ सम्पन्न भएको छ। सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरूको सक्रियतामा वर्तमान विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर आलेको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोह कार्यक्रममा शिक्षा अधिकृत राजेन्द्र खनाल प्रमुख अतिथी रहेका थिए।

महेन्द्र शक्ति माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं शिक्षा अधिकृत राजेन्द्र खनालले विद्यालयको शैक्षिक सुधारमा पूर्व विद्यार्थीहरूको योगदानको उच्च प्रशंसा गरे। आफूलाई सबल बनाउने र जीवनको जग निर्माण गर्ने विद्यालयलाई सम्झेर पूर्व विद्यार्थीहरूले गरेको न्यानो कपडा वितरण कार्य अत्यन्तै पवित्र र अनुकरणीय रहेको उनले बताए।आगामी दिनमा पनि विद्यालयको शैक्षिक र भौतिक विकासका लागि यस्तै सहकार्य जारी रहने विश्वास व्यक्त गर्दै उनले पुरस्कार विजेता विद्यार्थीहरूलाई बधाई तथा विद्यालयको निरन्तर प्रगतिको कामना गरे।

आफ्नो शैक्षिक जग निर्माण गरिदिएको विद्यालयप्रतिको अगाध प्रेम र कृतज्ञता प्रकट गर्दै २१ जना पूर्व विद्यार्थीहरूको विशेष सक्रियतामा विद्यालयका ५० जना विद्यार्थी भाइबहिनीहरूलाई  न्यानो कपडा (स्वीटर) उपहार स्वरूप प्रदान गरिएको छ। यस कार्यमा ऋषि अर्याल, ज्ञान हरि अर्याल, मिना आर्यल, सुनिल न्यौपाने, रवि अर्याल, दिनेश बानिया, सानु माया थापा, केशव थापा, हरिराम श्रेष्ठ, इश्वरी अर्याल, शान्ता पाण्डे, सुनिता अर्याल, सुमित्रा अर्याल, सुमित्रा अर्याल  (अधिकारी)  सपना संग्रौला, विनिता कोइराला, निर्मला पन्त, सरिता अर्याल, दिव्य अर्याल, सन्सरा थापा, र सुनिता न्यौपाने लगायतका साथीहरूले सामूहिक योगदान पुर्‍याएका छन्। देश तथा विदेशका विभिन्न कुनामा रहेर पनि विद्यालयप्रतिको यो अगाध प्रेम र सहयोगले भाइबहिनीहरूको सिकाइमा थप उत्साह र न्यानोपन थपेको छ।

आफ्ना दाजुहरू लगायत अवकाशप्राप्त गुरुहरूप्रति सम्मान व्यक्त गर्दै, वर्तमानमा विद्यालयको जिम्मेवारी सम्हालिरहेका सम्पूर्ण शिक्षकप्रति उच्च कदर प्रकट गरिन्। साथै, उनले वर्तमान विद्यार्थीहरूलाई मिहिनेतका साथ अध्ययन गरी विद्यालयको नाम चम्काउन समेत आग्रह गरिन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा पूर्व विद्यार्थीहरूको यो निस्वार्थ सहयोग र विद्यालयप्रतिको सद्भावको उच्च प्रशंसा गरिएको थियो। पूर्व विद्यार्थीहरूको तर्फबाट भएको यो सहयोगले विद्यालय र पुराना विद्यार्थीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश अर्यालले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। सो क्रममा उनले भने ‘महेन्द्र शक्ति माविका पूर्व विद्यार्थीहरूले स्वस्फूर्त रूपमा गर्नुभएको यो कार्य र आफ्नो विद्यालयप्रति देखाउनुभएको यो माया, सद्भाव एवं अगाध स्नेहको मूल्याङ्कन गर्ने कुनै तराजु हामीसँग छैन। हामी केवल आभार प्रकट गर्न सक्छौँ र धन्यवाद मात्र भन्न सक्छौँ। मन भए जुनसुकै उपाय सम्भव हुन्छ भन्ने कुरालाई यस कार्यले एक उदाहरणीय नमुनाका रूपमा प्रस्तुत गरेको छ।

महेन्द्र शक्ति माध्यमिक विद्यालयको वार्षिकोत्सवमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर आलेले विद्यालयको शैक्षिक विकासमा शिक्षक तथा शिक्षिकाहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*