आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुने, नयाँ योजनादेखि कार्यक्रम घोषणामा रोक

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा ल्याउन लागिएको आयोगले जनाएको छ।
उम्मेदवारी मनोनयनको मिति माघ ६ गते तोकिएको छ। यसअघि नै निर्वाचन आचारसंहिता २०८२ राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहिता प्रभावकारी रूपमा लागू गर्न आइतबार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूसँग छलफलसमेत गरेका थिए।
आचारसंहिता लागू भएसँगै संघ, प्रदेश र स्थानीय तहका सरकार, सरकारी निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार तथा मतदातासम्म यसको दायरा विस्तार हुनेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिका साथै निजी तथा गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारीलाई समेत आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिता कार्यान्वयनपछि तीनै तहका सरकारले वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भइसकेका बाहेक नयाँ कार्यक्रम सञ्चालन गर्न पाउने छैनन्। नयाँ नीति, योजना तथा कार्यक्रम घोषणा, स्वीकृत वा कार्यान्वयन गर्न रोक लगाइएको छ। साथै शिलान्यास, उद्घाटन, सर्वेक्षण र सम्भाव्यता अध्ययनजस्ता गतिविधिमा पनि बन्देज लगाइएको छ।
सरकारले कुनै पनि शीर्षकमा अनुदान वितरण गर्न नपाउने व्यवस्था गरिएको छ। राजनीतिक नियुक्तिका नयाँ पद सिर्जना गर्न तथा रिक्त पद पूर्ति गर्न समेत रोक लगाइएको छ। नयाँ पद सृजना, भत्ता वृद्धि, आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्ने कार्य पनि आचारसंहिताले निषेध गरेको छ।
त्यसैगरी, संघ, प्रदेश र स्थानीय तहका सरकारका पदाधिकारीको विदेश भ्रमणमा समेत कडाइ गरिएको छ। निर्वाचन आयोगको पूर्वअनुमति बिना विदेश भ्रमण गर्न नपाइने व्यवस्था आचारसंहितामा समेटिएको छ।












