फर्जी बिल पेश गरी बाख्रा पालन अनुदान रकम हिनामिना गर्ने प्रअसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाख्रा पालन अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७८–७९ मा नागार्जुन दानेश्वर आधुनिक बाख्रा फारम निर्माण गर्दा सम्झौता बमोजिम नगरेको तथा बोयर जातका बिका, बाख्रा खरिद गरी वितरण गरेको भनी झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिइएको अभियोगपत्रमा उल्लेख छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत विष्ट र तत्कालीन लेखापाल घनश्याम जोशी, इन्जिनियर राजेन्द्रसिंह धामी, सब(इन्जिनियर मदन विष्ट, नायब प्राविधिक सहायक अम्बिका विष्ट, नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष रुपेश विष्ट, सचिव प्रकाश विष्ट र कोषाध्यक्ष पूजा विष्टलाई प्रतिवादी बनाएको छ ।
सबै प्रतिवादीविरुद्ध जनही २३ लाख ७५ हजार रुपैयाँ बिगो कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।












