संघीयतामाथि भ्रम नफैलाऔँ, प्रदेशलाई अझ बलियो बनाउँछौं: बालेन

५ माघ २०८२, सोमबार १६:२९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सङ्घीयतालाई अझै बलियो बनाइने बताएका छन्। उनले सोमबार रास्वपाद्वारा जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीको प्रदेश र सङ्घीयतासम्बन्धी धारणा स्पष्ट पारेका हुन्।

रास्वपाको सङ्घीयता र प्रदेशप्रतिको नीतिबारे विभिन्न प्रश्न र आलोचना उठिरहेको उल्लेख गर्दै शाहले प्रदेशको अधिकार र क्षमतालाई थप मजबुत बनाइने बताए। प्रदेशको काम केवल घरघरमा धारा जडान गर्ने मात्र नभई जनताको अधिकार र सेवा प्रदेशमै सुनिश्चित गर्नु रहेको उनले बताए।

मधेस प्रदेशको राजधानी जनकपुर हुँदाहुँदै पनि अधिकार माग्न काठमाडौं जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै शाहले अब त्यो अवस्था अन्त्य हुनुपर्ने धारणा राखे। उनले अधिकार माग्न काठमाडौं धाउनुपर्ने होइन, अधिकार जनकपुरबाटै प्राप्त हुने व्यवस्था हुनुपर्ने बताए।

अब काठमाडौं अधिकार माग्न होइन, घुम्नका लागि मात्र जानुपर्ने समय आएको उल्लेख गर्दै उनले पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथलगायतका धार्मिक तथा पर्यटकीय स्थल घुम्न आग्रह गरे। रास्वपाले प्रदेशलाई अधिकार सम्पन्न बनाएर सङ्घीयताको मर्मलाई व्यवहारमा उतार्ने उनले दाबी गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*