भ्रष्टाचार मुद्दा खेपिरहेका मोहन बस्नेतले सिन्धुपाल्चोकबाट पाएनन् टिकट

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवाको टुंगो लगाएको छ। कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर २ मा इन्द्रावती गाउँपालिकाका पूर्वाध्यक्ष वंशलाल तामाङ्गलाई उम्मेदवार बनाएको हो।
शेरबहादुर देउवाका निकट मानिने पूर्वमन्त्री मोहनबहादुर बस्नेतले टिकट गुमाएका छन्। अन्तिम समयसम्म सिन्धुपाल्चोकबाट टिकट पाउन पहल गरिरहेका उनले अन्ततः टिकट नपाउने निश्चित भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध टेरामक्स काण्डमा भ्रष्टाचारको मुद्दा चलाइरहेको छ। भ्रष्टाचार मुद्दा खेपिरहेका उनलाई कांग्रेसले टिकट नदिने भएको हो।
सभापतिमा शेरबहादुर देउवा नै रहेको भए टिकट पाउने प्रबल सम्भावना भएका उनले कांग्रेस विशेष महाधिवेशनको जोडतोडले विरोध गरेका थिए। निर्वाचन आयोगबाट गगन थापा पक्षले आधिकारिकता पाएपछि उनले टिकट नपाउने सम्भावना बढेर गएको थियो।
सिन्धुपाल्चोकमा नेकपा एमालेले क्षेत्र नम्बर–१ मा होमनारायण श्रेष्ठ र क्षेत्र नम्बर–२ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले क्षेत्र नम्बर–१ मा माधव सापकोटा र क्षेत्र नम्बर–२ मा युवराज दुलाललाई उम्मेदवार बनाएको छ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्षेत्र नम्बर–१ मा भरत पराजुली र क्षेत्र नम्बर–२ मा अजय श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्षेत्र नम्बर–१ मा राममणि न्यौपाने र क्षेत्र नम्बर २ मा गोपिकृष्ण चौलागाईंलाई उम्मेदवार बनाएको छ।












